काठमाण्डाै – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) काे वरिष्ठ नेता नियुक्त हुनुभएको छ ।
एमाले स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । यससँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किनुभएकाे छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई गएकाे केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो । मनोनीत भएपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी हुनुभएकाे हाे ।
भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएको थियो । भण्डारीको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उहाँको आउँदाे भूमिकाबारे चर्चा हुँदै आएको थियो ।
भण्डारीले एमालेको उच्च तहमा जिम्मेवारी पाएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
– न्युज एजेन्सी नेपाल







