
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० मा राजस्थान रोयल्सले विजयी शुरूवात गरेको छ। मंगलबार राती सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो। २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र बनाउन सक्यो। मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६।४ ओभरमा ५६ रनको साझेदरी गरेका थिए। वाटसन ३३ र विजय २१ रन जोड्दै पवेलियन फर्के।
११४ रन जोडेर पाँच विकेट गुमाएको अवस्थामा चेन्नइका डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि १९ औं ओभरमा आउट भए। उनले बिष्फोटक पारी खेल्दै ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे। महेन्द्रसिंह धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्। उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे। राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। आर्चर, गोपाल र करनले १र१ विकेट हात पारे।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनायो। राजस्थानलाई विशाल योगफलमा पुर्उन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे। युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन जोडे। स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए। त्यस्तै, ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ रनमा बनाए।
दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए। जसमा जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे। चेन्नइका पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए। रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए। दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए। साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए।
राजस्थानका सञ्जु स्यामसन म्यान अफ द म्याच चुनिए। जितसँगै राजस्थान २ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै चौथो स्थानमा झरेको छ। चेन्नइले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ। राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिष्पर्धा हुनेछ।








