गृहपृष्ठ Featured संक्रमितको मृत्युपछि भेरी अस्पताल तनावग्रस्त, ज्यान बचाउन तीन नर्सले छतबाट हाम फाले

संक्रमितको मृत्युपछि भेरी अस्पताल तनावग्रस्त, ज्यान बचाउन तीन नर्सले छतबाट हाम फाले

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट गरेका हुन् । मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका छन् ।

‘दाङका एक संक्रमितको मृत्यु भएपछि आफन्तले आक्रमण गर्नुभयो । स्थिति तनावग्रस्त छ । प्रहरीले सुरक्षा दिएको छ । भित्र जाने स्थिति छैन’, अस्पतालका डा. प्रकाश थापाले शिलापत्रसँग  भने, ‘मृतक्का आफन्तले डाक्टर र नर्सको घाँटी थिचेका छन् । तीन/चार जना नर्सले हाम फालेर ज्यान जोगाए । स्वास्थ्यकर्मीले नै सास फेर्न सकेका छैनन् । सबै तोडफोड भएको छ । भित्र अरु बिरामीको उपचार गर्ने स्थिति छैन । बाहिर सबैको रुवाबासी छ ।’

मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको उनले बताए । ‘ज्यानको बाजी राखेर महामारीमा काम गरिरहेका छौँ । आफ्नो सुरक्षा छैन भने कसरी काम गर्ने ?’, उनले गुनासो गरे । बिरामी कुरुवाको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

४ जेठदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्त कुरुवासमेत रहेका मानबहादुर रावतसहितको समूहले स्वास्थ्यकर्मीमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै प्रहरीले मानबहदुरसहित तीन जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार