कप्तान गेराथ वेलको प्रेरणादायी प्रदर्शनको मद्दतमा बुधबार राति युरोकप २०२० को समूह एमा वेल्सले टर्कीलाई २–० ले हराएको छ । वेल्सले दुई खेलबाट चार अंक बटुलेको छ । टर्कीले भने अहिलेसम्म भएका दुवै खेलमा हार व्यहोरेको छ । टर्कीले अन्तिम १६ को स्थान सुरक्षित गर्न अबको दुई खेलमा जित निकाल्न आवश्यक छ । यसका साथै अन्य टोलीको नतिजामा पनि निर्भर रहनु पर्नेछ ।
यस समूहमा पहिलो जित निकाल्ने क्रममा वेल्सका लागि आरोन राम्सी तथा रोवर्टले एकएक गोल गरेका थिए । यी दुवै खेलाडीले कप्तान वेलकै पासमा गोल गरेका हुन् । अजरवैजनको वाकु रंगशालामा ३० हजार दर्शक अगाडि वेल्स र टर्कीले आक्रामक शैलीमा प्रतिस्पर्धा गरेका थिए ।
खेलको ६१आंै मिनेटमा वेलले पेनाल्टी मिस गर्दा वेल्स २–० को अग्रता लिन अवसर गुमायो । वेलको पेनाल्टी क्रसबारमाथि गएको थियो । खेलको ४२र्औँ मिनेटमा वेलको आकर्षक पासमा राम्सीले गोल गर्न सफल भए । खेलको अन्तिम इन्जुरी समयमा वेल्स र टर्कीका खेलाडीबीच झडप भएको थियो । जसका कारण केही समय खेल अवरुद्ध बन्यो ।
केही समयपछि सुरु भएको खेलमा वेलले टर्कीको सानो डिबक्सभित्र रोवर्टलाई पास दिए । रोवर्टले वान टर्चमै वेल्सलाई २–० को जित पक्का पारे । वेल्सले आउँदो आइतबार रोममा इटालीको सामना गर्नेछ । टर्कीले वाकुमै स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धाभर टर्कीको बल पोसेसन निकै बलियो थियो । टर्कीले बलमाथि ५३ प्रतिसत नियन्त्रण बनाएको थियो । यद्यपि, बल पोसेसनमा पछाडि परे पनि वेल्सले टर्कीको पोस्टमा १६ पटक चार्ज गरेको थियो । टर्कीले १८ पटक गोलको प्रयास गरे पनि असफल बन्यो ।








