बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका दाङका तीनै जना धरौटीमा छुटेका छन् ।
आइतबार जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा प्रहरी हिरासतमा गरेका तुलसीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनीहरू तीनै जना जनही ५०–५० हजार रुपैयाँ धरौटी बुझाएर आइतबार साँझ रिहा भएको बाँके जिल्ला अदालतका श्रेष्तेदार तीर्थ भट्टले जानकारी दिए ।
१३ जेठ राति तुलसीपुर–११ का ५२ वर्षीय कोरोना संक्रमित डिल्ली बहादुर रावतको भेन्टिलेटरमा सार्ने क्रममा मृत्यु भएपछि आक्रोशित उनका भाइ मानबहादुरसहित तीन जनाले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।








