नेपालमा पछिल्लो २४ घण्टा कोरोना भाइरसका संक्रमण बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना परीक्षणसम्बन्धी विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार संक्रमितको संख्या बढेको देखिएको हो ।
शुक्रबार १४ हजार १८२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार १२ हजार ७६८ नमुनाको परीक्षण गर्दा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको थियो ।
आज ९ हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
आज काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज १ हजार ७५ जना कोरोना संक्रमणबाट निको भएका छन् । हिजो १ हजार ७५६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म नेपालमा संक्रमण जित्नेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।








