टोकियो ओलम्पिक- २०२० खेलकुदमा अहिलेसम्म चीन पाँच पदकसहित शीर्ष स्थानमा छ । चीनले तीन स्वर्ण र दुई कास्य पदकमा आफ्नाे नाम लेखाइसकेकाे छ ।
चीनपछि पदक तालिकाकाे दाेस्राे स्थानमा रहेकाे जापानले दुई स्वर्ण र एक रजत पदक हात पारेकाे छ । अमेरिकाले एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेर तेस्राे स्थानमा छ ।
अस्ट्रेलियाकाे नाममा एक स्वर्ण, एक रजत र एक कास्यपदक छ । ओलिम्पिककाे नाममा खेलेका रुसी खेलाडीले पनि स्वर्ण, रजत र कास्य गरी तीन पदक जितेका छन् ।
प्रतियोगितामा इटाली र ट्युनिसियाले एक स्वर्ण तथा दुई-दुई रजत हात पारेका छन् । आठौँ स्थानमा रहेको दक्षिण कोरियाले एक स्वर्ण र दुई रजत आफ्नो पाेल्टामा पारेको छ । हिजाेसम्म दक्षिण काेरिया तेस्राे स्थानमा थियाे ।
यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्डले समान १-१ स्वर्ण पदक जितेका छन् ।
टाेकियाे ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी सहभागी छन् । जुडाेकी साेनिया भट्ट र सुटिङकी कल्पना परियारले प्रतिस्पर्धा गरिसकेका छन् । हिजाे सोनियाले रसियाकी डोल्गोभा इरिनासँग हार बेहाेरिन् भने राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना अर्काे चरणमा प्रवेश गर्न सकिनन् ।
२४ साउनसम्म सञ्चालन हुने ओलम्पिकमा नेपालले एथलेटिक्स र पाैडी खेलमा सहभागिता जनाउन बाँकी छ । पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एथलेटिक्सतर्फ नेपालकी सरस्वती चाैधरीले प्रतिस्पर्धा गर्नेछिन् । एक सय मिटर दौडमा उनी १५ साउनमा मैदान उत्रनेछिन् ।
नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बन्ने गरेकाे छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।
नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा सुरु गरेको थियो । अहिलेसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर, कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् । नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले चाहिँ ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका थिए ।
ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ, एथलेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी । यसमा ओलम्पिक यात्रा सुरु गरेयता एथलेटिक्स खेलको सहभागिता भने अहिलेसम्म टुटेको छैन । यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ ।










