धेरै चोटी करायो आगनको डिलको पैंयुमा बसेर कालो काग
विहान उठेर दैलो पोत्नु अघि पुग्छन् आँखा घरको तालातिर
तर , सधै उस्तै गरेर झुल्किन्छ घाम – किन फरक हुदैन घामको रङ ?
दिनभरी चुपचाप शीरमाथी हिडिरहने घाम किन बोल्दैन कहिले ?
आकासमा भटभटे कराएको सुनेर केटाकेटीहरू
आँगनमा दौडिन्छन् – पैसा झारिदे भनेर
मलाई थाहा छ – भटभटेले केहि पनि झार्दैन
तर, पनि मन उतै दौडिन्छ कुनै खबर आयो कि ?
कैयौं पर्वहरू दैलो भित्र नपसी – दलान बाटै फर्किए
कैयौं आशाहरू – टुकी निभाए संगै निभीगए
तालोमा आईपुग्छ – निरासाको वादल
दैलो ढक्ढकाउँछ वेदनाको छाँयाले
डाँडातिर कोही नयाँ मान्छे उक्लिएको देखे पनि तिम्रै झल्को लाग्छ
वेसी तिर कोही झरे पनि तिम्लाई खबर पठाउन मन लाग्छ
आईसल आँउछु भनेर हिडेको छोरा – तिम्रो आईसल कहिले आउला ?
चरीले रूख छाडे जस्तै सबैले गाउँ छाडीसके छोरा
तिम्री कान्छी आमाले बुहारी भित्र बाहिर गराएको देख्दा
छनछनी चुरा र पाउजु बजेको सुन्न निकै हतारिएकी छु
तिमीलाई गरिखान सम्पती बाउले जोडिदिएकै थिए
एक्लो छोरो सबै रहर पुराएकै थिए
आखिर के छ र बाबु त्यो देशमा – जो यो गाउँमा छैन
परदेशमा पसिना बगाएर हुने भए – बगाएकै हुन् तिम्रा बाले रगत
बाको पाखुरीमा गोलीको दाग देख्दा देख्दै पनि
किन प्यारो भयो कुन्नि तिमीलाई परदेश ?
थाहा छ बाबु तिमी दुख मेरै लागि गरेका छौ
तर आँसुको तातोलाई न्यानो मान्न तयार छैन यो मन
सबैले सोध्छन् लाहुरे कहिले आउँछ
प्रत्येक पूर्णिमाको जून देख्दा आजै आउँछ जस्तो लाग्छ
तर जून दिनदिनै घट्दै जान्छ
र औंसिको रात भन्दा अँध्यारो हुन्छ यो मन
आकासको वादल फाट्दा पनि मनको बादल हट्दैन
मध्यान्हको चर्को घाममा पनि मन चिसै रहन्छ
छोरा उज्यालो हुनु भनेको घाम लाग्नु मात्रै रहेनछ
ज्योति छर्नु भनेको बत्ती बाल्नु मात्रै रहेनछ
छोरा वरू निस्तै अघाउँला – भोकै परौंला
अब त फर्की आऊ म पनि डाँडा माथीकी घाम भैसकें ।
-शेखर विकल्प