गृहपृष्ठ कला/साहित्य ‘ युद्धको पछुतो ‘

‘ युद्धको पछुतो ‘

प्रकाशित मिति:




" युद्धको पछुतो "




बुबाको बर्षौँ छिप्पेको दम र उपचारको अभावले जिर्ण

बनेको आमाको बाथलाई

ठीक पार्न मुग्लान छिर्दै लाग्दा

समाज बदलेर

समानताको जग बसाल्ने

प्रलोभन देखाइ

मेरो  टिकट राहदानी च्यात्न लगाइयो




रोग र भोकको  खाडल पुर्न हिंडेका मेरा पाऊ

बाटो मोडेर

देश बदल्ने बाटोतिर लम्किए




पुसको चिसो रातमा

बोरामा खादेको चिसै भातले भोक टारेँ

भरुवा बन्दुकको सिरान लगाई

धर्ती बिछयाएर

आकाश ओढें




व्यवस्था बदल्न

आफ्नो कलिलो उमेरलाई

धितो राख्दै रगतले

ईतिहास लेख्छु भन्दाभन्दै

बा आमा रोगको प्यारो हुनुभयो

आँसु समेत झार्न नपाई

युद्धमा होमिइरहेँ




बर्षौं रगतको टाटो बोकेर बेहिसाब समानताको प्रतीक्षा गरें




मेरो मन बहकाई

राहदानी च्यातेर

हातमा गृनेट र खुकुरी थमाउनेहरु भान्से भए

डाडु पन्युँ   समाए

तर

मैले पेटभरी खान फेरि पाइन

देश बदल्ने सपनाले प्वाल परेको पाखुरा सिउन पाइन

उल्टै

अयोग्यताको बिल्ला भिराएर

फेरि राहदानी बनाउन बाध्य पारियो




पुनः जिन्दगीले १० बर्ष अघिको

स्थानमा ल्याइदियो ।




उ बेला राहदानी बोक्दा

मातापिताको हात यो शिरमा थियो

युवा जोस जाँगरले संसार उछिन्छु भन्ने आट साहस थियो

सबैको मुहारमा मेरो भरोसाको

आडले खुशी पोतिदिन्थ्यो

तर

अहिले बेसाहारा टुहुरो बनी

निर्बल शरीर,हराएको जोस

र बिक्षिप्त मन लिएर बाटो लागें




एउटै थालमा सँगै खाएर

सुतेको साथी

सदाको लागि निदाउदा समेत मैले मुग्लान छोडन नसकी

तिम्रै भोग विलासको जिन्दगीमा टेवा दिइरहेको छु




र त अहिले

पश्चाताप लागिरहन्छ

त्यो युद्धको




दश बर्ष पहिले

मैले टिकट  राहदानी नच्याती जहाज चढेको भए

कमसेकम मेरो बा आमाको

रोग निको पारेर

अरु केही बर्ष आशीर्वाद थाप्दै

आमाको ममता र

बुबाको आदर्शको अंगालोमा बेरिएर

एउटा सानो झुप्रो बनाइ

निदाउन त सक्थें होला




आखिर बर्षौं लडे पनि

फेरि राहदानी बनाई

च्यातिएको मन लिएर

जहाज त चढनै पर्ने रहेछ।







-डिआर न्यौपाने "सूर्य"

कालीगण्डकी २,अर्बेनी गुल्मी

हाल-दक्षिण कोरिया

सम्बन्धित् समाचार