गृहपृष्ठ कला/साहित्य एक पटक अवस्य पढ्न पर्ने कविता :- गाँउको सडक

एक पटक अवस्य पढ्न पर्ने कविता :- गाँउको सडक

प्रकाशित मिति:


              गाँउको सडक - गीता  गीता पुडासैनी 

 
                 महासय,
                यो बाटो गाउँलेहरुको हो
                जहाँ
बर्षौं पहिले गाउँलेहरुले पसिना बिछ्याएर
   सडक वनाएका थिए
 र, दौडाएका थिए
गाउँले सपना बोकेका ईन्द्रेणी जहाजहरु
 र, उडाएका थिए
चङ्गा जसैगरी आकाशभरी
आफ्नो माटोको झण्डा ।




त्यो दिन,
जुन दिन
तिमी यहि बाटैबाटो
माथि टाकुरामा पुगेर
गाउँ बेचेको उद्घोष ग¥यौ
त्यही दिनदेखि
खर्क र भेडीगोठहरुका आँखा
बगिरहेछन् अविरल 
जसरी बगिरहेछन् सदियांैदेखि मेचीकाली ।




बेच्न त तिमीले उहिल्यै बेचेका रहेछौ
ती चौंरी खर्क,
भेडी गोठ,
पाखाभरी फुलेका सुनाखरी र निर्मसीका बुट्टाहरु
झर्नामा टल्किरहेको मेरो देशको नक्सा
यही सडकैसडक मेरो आँगनसम्म आउने
घाम र जुनको कलिला पैताला
बुढी आमाको सेतै फुलेको कपाल
नाम्लोको डाम बसेको बाको खुइलिएको तालु
र, बैनीको फरिया ।




मलाई यो पनि थाहा छ
तिमीले मुखभरी सुनको दाँत हाल्नमात्र
बेचिदिएछौ 
आफुलाई पनि ।




महाशय,
यो बाटो गाउँलेहरुको हो
जहाँ वर्षौ पहिले गाउँलेहरुले ढुङ्गा बिछ्याएर 
सडक बनाएका थिए
तर
तिमीले खोस्न लगाएछौ
यो सडकको रुट पर्मिट
यी गाउँका मालबाहक ट्रकहरुको लाइसेन्स 
बन्द गरिदिएछौ तेलका ट्याङ्करहरु
तल बन्दरगाह नआइपुग्दै
उता हेरिरहेका छन् भेडि गोठ र चौंरी खर्क
एक अर्काको आँखामा राखेको देशको नक्सा ।




महाशय,
देश भनेको ढुङ्गा र माटो मात्र होइन
तिमीलाइ थाहा नहोला
तिमीले सब थोक बेचेर गएपछि
देश किन्नेले तिमीलाई पनि 
विस्थापित बनाइदिएछन् 
र त फर्र्किएर आएछौ गाउँमा
बाँकी सुनको दाँत पनि बेचेर ।




खबरदार ! 
जानकारी गराउँछु
सिमानामै उभिएर
अहिले यो सडक गाउँलेहरुको हो
ऊ परबाट अहिले पनि यतै आइरहेछ
गाउँको सपना बोकेको
एउटा मालबाहक ट्रक 
त्यसैले, यो बाटो हिड्न
पूर्ण निषेध गरिएको छ 
तिमी र तिमीजस्ता बेइमानहरुलाई ।

सम्बन्धित् समाचार