गृहपृष्ठ खबर पाँचथर, इलाम हुँदै मेची, जोडिए मेची र कोसी,

पाँचथर, इलाम हुँदै मेची, जोडिए मेची र कोसी,

प्रकाशित मिति:
जोडिए मेची र कोसी राजमार्ग”
तमोर नदीको दोभान पुल। यो पुल सोमबारदेखि सञ्चालनमा आएको छ। तस्बिर : सीताराम गुरागाईं

 १० असोज २०७५

ताप्लेजुङ : सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङ कोसी राजमार्गसँग जोडिएको छ। तमोर नदीको दोभानमा पुल निर्माण भएसँगै मेची र कोसी राजमार्ग पनि जोडिएका छन्।

ताप्लेजुङबाट अब यी दुवै राजमार्ग हुँदै तराई–मधेस झर्न सकिने भएको छ। पाँचथर, इलाम हुँदै मेची राजमार्गबाट झापा अनि संखुवासभा, तेह्रथुम, धनकुटा हुँदै कोसी राजमार्गबाट सुनसरी पुगिने दोभान बजारका गुरु पौडेलले बताए। १० करोड ३५ लाख ६७ हजार रुपैयाँ लागतमा १० वर्षमा बनेको पुल सोमबारदेखि सञ्चालनमा आएको हो। ‘यो पुलले पूर्वका नौ जिल्लालाई चक्रपथ नै बनाएको छ’, दोभान उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका पौडेलले भने, ‘अब ताप्लेजुङ बाहिरकाले सोचेजस्तो विकट रहेन।’

तत्कालीन संविधानसभाका सभामुख सुवास नेम्बाङले २०६६ सालमा पुल शिलान्यास गरेका थिए। दुई वर्षमा पुल निर्माण सक्ने गरी सम्झौता भएको थियो। पुलबाट मालवाहक मात्र होइन, यात्रुवाहक सवारी साधनसमेत निर्वाध रूपमा चल्न थालेको दोभानकै गंगाराम गुरागाईंले जानकारी दिए। सोमबारै सदरमुकाम फुङलिङबाट गएका सवारी साधन मैवाखोला गाउँपालिका केन्द्र साँघु, आठराई त्रिवेणीको केन्द्र हाङपाङ र मेरिङ्देन गाउँपालिका केन्द्र सान्थाक्रा पुगेका छन्।

पुलबाट सबैभन्दा धेरै जिल्लाको निर्वाचन क्षेत्र नम्बर ‘ख’का स्थानीय लाभान्वित हुने मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। ‘गाउँमा ट्र्याक खोलेर पहिल्यै सडक पु¥याइएको थियो, हामी निर्वाचित भएर आएपछि पनि सडकको स्तरोन्नति र निर्माणलाई नै प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘तमोरमा पुल नबनेकै कारण हामीले खनेको सडकमा गाडी गुड्न सकेको थिएन।’

गाउँमा सडक पुगे पनि गाडी नचल्ने भएकाले कोही बिरामी परे डोकोमै बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ। ‘तमोरमा पुल बनेपछि यस्ता समस्याबाट मुक्ति पाइने आस छ’, आठराई त्रिवेणीका केशव चुडालले भने,‘साथै हामी दूरदराजका किसानले उत्पादन गरेका कृषिउपजसमेत बजारसम्म लैजान सकिने भयो।’

फाकुम्बा, साँघु, नाल्बो र पापुङका स्थानीय अब दोभान र फुङलिङ बजार पुगेर गाउँ फर्किन भ्याउँछन्। ‘यसले जिल्लाकै विकासको ढोका खोलेको छ’, मेरिङ्देन गाउँपालिकाका मानबहादुर मोक्तानले भने। स्थानीय व्यापारीलाई सामान ओसारपोसार गर्न र सर्वसाधारणलाई आवतजावतमा सजिलो भएको छ।

झापाको बिर्तामोडबाट ट्रक सामान बोकी सिधै दोभान बजार पुगेका छन्। यसअघि फुङलिङको ठोक्रेसम्म मालवाहक साधनले पु‍र्याएका सामान मानिसले बोक्नुपर्ने बाध्यता थियो। पुल सञ्चालनमा आएसँगै यातायात व्यवसायीले पनि ग्रामीण भेगसम्म रुटका गाडी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। ‘फुङलिङ बजारबाट नाल्बु, थुकिमा, निघुरादिन, हाङपाङ, साँघुलगायत गाउँसम्म पिकअप चलाउने तयारी थालेका छौं’, पूर्वाञ्चल जिप व्यवसायी संघका प्रेम लंवाले भने, ‘भाडादर कायम गर्ने र अन्य प्राविधिक प्रक्रियाबारे छलफल भइरहेको छ।’

दोभानबाट मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका जान मैवा खोलामा एक वर्षअघि पुल बनेको थियो। आठराई त्रिवेणी गाउँपालिका केन्द्र जोड्ने सोभुवा खोलामा पनि पुल बनेको छ। ताप्लेजुङको मिक्वाखोलाबाहेक सबै स्थानीय तहका केन्द्र सडक सञ्जालमा जोडिएका छन्। भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले यही असोज १३ गते पुल उद्घाटन गर्ने तयारी रहेको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य सूर्य बराइलीले बताए।

सम्बन्धित् समाचार