गृहपृष्ठ ज्योतिष /वास्तु आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

प्रकाशित मिति:

काठमाडौँ, २३ कात्तिक-यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

भाइटीका:-तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ। भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिएको शान्ति बताउँछिन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

सम्बन्धित् समाचार