-बुवा ७३ वर्षको हुँदा हरिवंशको जन्म भएको थियो । तर उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा निधन भयो । सानै उमेरमा आमाबुवा गुमाउँदाको पीडा र दुख कस्तो हुँदो रहेछ ? भन्ने कुरा कसैले उनीसँग सोध्दा सायद राम्रो जवाफ पाउँछ ।
लोकप्रिय कलाकार हरिवंश आचार्य आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०१४ साल कात्तिक २७ गते काठमाडाैंको गैरीधारामा जन्मिएका हरिवंश, हरिवंश पूजापछि जन्मेका परिवारका एक मात्र छोरा हुन् ।
पाँचजना छोरी मात्र जन्मेपछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोराको चाहमा हरिवंशका आमाबुवाले हरिवंश पूजा लगाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश राखिएको हो । आमाबुवाका रुढीबादी सोंचका कारण आफू जन्मिन पाएको हरिवंश बताउँछन् ।
आमाबुवा नहुँदा जीवनमा जेठी दिदी बिन्दु आचार्यले अभिभावकको जिम्मेवारी पूरा गरेको हरिवंश बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन् ।
१७ वर्षको उमेरदेखि कलाकारिताको सुरुवात गरेका हरिवंशले रेडियो नेपालका हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलासीसँगको सहयोगले २०३१ सालमा कलाकारिताको सुरुवात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघरमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो । यो गाईजात्रामा काम गरेपछि उनको चर्चा परिचर्चा सुरु भयो ।
निरन्तर ६ वर्ष कलाकारितामा संघर्ष गरेपछि उनको मदनकृष्ण श्रेष्ठसँग भेट भयो । मदनकृष्णसँग भेट भएपछि उनले उनीसँगको सहकार्यमा स्टेज नाटकदेखि टेलिसिरियल बनाउने काम गरे । मदनकृष्णसँग हरिवंशको यात्रा चार दशक पार गरिसकेको छ । उनी मदनकृष्णलाई जीवनसाथी भन्न नमिल्ने भन्दै जीवनदाइ भन्न रुचाउँछन् । मदनकृष्णसँग मिलेर उनले लालपूर्जा, हरिबहादुर मदनबहादुर, १५ गतेलगायतका सिरियलहरु बनाए जुन अत्याधिक रुचाइएका सिरियलहरु हुन् ।
पर्दामा बुढी आमाको भूमिका होस् या तन्नेरी युवाको उनले हरेक चरित्रलाई न्याय दिएका छन् । उनको अभिनयबाट जोकोही पनि सहजै प्रभावित हुन्छ । पर्दामा अभिनय गरेर अरुलाई सहजै हँसाउने उनी स्वयमले भने जीवनमा हाँसो भन्दा धेरै आँसु पिएका छन् ।
बाल्यकालमै आमाबुवा गुमाएकाउनले ५३ वर्षको उमेरमा फेरि एकपटक जीवनको महत्वपूर्ण व्यक्तिलाई गुमाए । श्रीमती मीरा उनको जीवनबाट सदाका लागि टाढा भइन् । अरुलाई हँसाउन संघर्ष गरिरहने हरिवंशले आफ्नो जीवनमा भने आँसु धेरै पाए । हाँस्यकलाकार भएर पनि उनी अरुलाई हँसाउन सहज र आफू हाँस्न गाह्रो भएको बताउँछन् ।
दोस्रो विवाह
२६ वर्षको उमेरमा हरिवंश वैवाहिक बन्धनमा बाँधिए । व्रिकम सम्वत २०४० मा मीरासँग विवाह गरेका हरिवंश दुई सन्तान त्रिलोक र मोहितका पिता पनि बने । तर मीरासँग हरिवंशले आधा जिन्दगी मात्रै काटे । २० वर्षसम्म मुटुमा पेसमेकर राखेर बाँचेकी मीरा मस्तिष्क पक्षघातका कारण संसारबाट बिदा भइन् ।
मीराको निधनपछि हरिवंश आचार्य पूर्ण रुपमा टुटे । उनी केही समय डिप्रेशनमा पनिगएका थिए । मीराको निधनपछि नै हरिवंशले जीवनमा आएका आरोहअवरोहरुलाई समेटेर किताब लेख्ने मन बनाएका थिए । मीराले साथ छोडेपछि उनको एक्लोपनलाई बिसाउन आइन् बुटवलकी रमिला पाठक ।
आफूभन्दा १३ वर्ष कान्छी रमिलासँग उनले मीराको निधन भएको ठीक एक वर्षपछि विवाह गरे । रमिलाले पनि पतिवियोग सहेकी थिइन् । मीराको निधनसँगै एक्लिएका हरिवंश रमिलाको आगमनले दोस्रो जन्म पाएको बताउँछन् । अहिले हरि र मीरा प्रायः एकसाथ हुन्छन् ।
कुकुर र हरिवंशको सम्बन्ध
हरिवंशले आफ्नो अटोबायोग्राफी ‘चिना हराएको मान्छे’ मा जीवनका सबै सुख र दुःखहरुलाई स्थान दिएका छन् । यसबाहेक पनि उनले प्रस्तुत गरेका केही प्रसंगहरु निकै चाखलाग्दा छन् । तर उनको कुकुरसँगको सम्बन्धको प्रसंग भने चाखलाग्दो मात्रै हैन अचम्मको छ । उनले आफ्नो जीवनलाई कुकुरको जीवनसँग तुलना गरेका छन् ।
कात्तिकमा जन्मेका उनलाई सानोमा केही बदमासी गर्दा अरुले कात्तिके भनेर बोलाउँथे । किनभने कात्तिक महिनालाई कुकुरको सिजनको रुपमा लिइन्छ । कात्तिकमै जन्मेका उनले कुकुरसँग तुलना गर्दै आफूले जीवनमा कुकुरले जस्तो दुःख र सुख दुवै पाएको बताउँछन् । रंगमञ्चमा काम गरेर उनले जीवनमा पहिलो पटक पाएको प्रमाणपत्र पनि कुकुरसँगै सम्बन्धित थियो । उनले पहिलो पटक कुकुरकै भुकाईबाट प्रशंसापत्र पाएका थिए ।
जसरी बाटोमा बसेको कुकुरलाई केहीले खाने कुरा दिन्छन् केहीले लखेट्छन् त्यसरी नै उनले पनि जीवन भोगाईको अनुभव संगालेका छन् । केही भुस्याहा कुकुरहरु हुन्छन् त केही महंगा कुकुरहरु । भुस्याहा कुकुरहरुले दुःख पाउँछन् भने महंगा कुकुरहरुले एयर कंडिसनिङ गाडीमा बस्न पाउँछन् । मालिकमालिक्नीको काखमा बसेर खेल्ने अनि महंगा खानेकुराहरु खाने गर्छन् ।
आफ्नो जिन्दगी पनि यस्तै दुईथरि कुकुरको जस्तै भएको उनको भनाई छ । जीवनमा कुकुरले पाउने दुःख पनि पाएको र सुख पनि पाएका कारण उनले आफूलाई कुकुरसँग तुलना गरेका हुन् ।
कुकुर हरिवंशलाई एकदमै मन पर्ने जनावरमा पर्छ । संयोगवस उनी कुकुरसँगै सम्बन्धित संस्थाको अध्यक्ष पनि भए । ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर’ मा पनि उनले अध्यक्ष भएर काम गरे । त्यस संस्थाले बाटोमा हिँड्ने भुस्याहा कुकुरहरुलाई विष खुवाएर मार्न नपरोस् भनेर परिवार नियोजन गर्ने गर्थ्यो ।
लुतो आएर छटपटिएका कुकुरहरुलाई सफा गरिदिने अनि उपचार गरिसकेपछि भने त्यसलाई जहाँबाट ल्याएको हो त्यही ठाउँमा लगेर छोडिदिने त्यहाँको नियम थियो । तर दुर्भाग्य त्यो संस्था अहिले बन्द छ । यो संस्थालार्ई लण्डनकी जेन शल्टर भन्ने महिलाले सुरु गरेकी हुन् । उनले आफू रिटायर्ड भएको पैसा ल्याएर यो संस्थाको सुरुवात गरेकी थिइन ।
रेडियो अडियोले हरिवंशको जन्मदिन विशेष बनायो
नेपालका प्रायः सबै हास्यकलाकारको जन्मदिन विशेष प्रकारले मनाउने परम्परा नै बसालेको रेडियो अडियोले वरिष्ठ हास्यअभिनेता हरिवंश आचार्यको जन्मदिन पनि विशेष प्रकारले मनाएको छ । उनलाई जन्मदिनको शुभकामना दिनका लागि वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, सिताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, शिशिर वाङ्देललगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । सबैले आआफ्नो तर्फबाट वरिष्ठ हास्यकलाकार हरिवंशलाई शुभकामना दिएका थिए ।
हरिवंश अचार्यलाई जन्मदिनका अवसरमा हाम्रो तर्फबाट पनि सुस्वास्थ्य र दीर्घ जीवनको कामना ।