गृहपृष्ठ Featured पाँचखालका कृष्ण, चीनका ‘सरिफ’ होटल म्यानेजर

पाँचखालका कृष्ण, चीनका ‘सरिफ’ होटल म्यानेजर

प्रकाशित मिति:


कृष्ण तिमल्सिना

कृष्ण तिमल्सिना

‘बेलायती म्यानेजरले ब्रेनवाश गर्दै भन्यो– जुन देशमा गएपनि भाषिक कठिनाइ हुन्छ, दुईचार दिन दिमागलाई आराम देऊ, अनि आऊ!’

विदेशिएको कुनै पनि नागरिकको काँधमा सो देशको इज्जत प्रतिष्ठा पनि बोकिएको हुन्छ। नेपालीहरू जहाँ गएपनि देशको संस्कृति बोकेरै हिँड्छन्। तर देशको संस्कृति थाम्ने नाममा कति नेपालीले दौरा सुरूवाल, साडी चोलो र पेटीकोट बोकी हिँडेका होलान्!

यो डिसेम्बरमा चीनलाई कर्मथलो बनाएको १२ वर्ष पुग्दैछ। काभ्रे पाँचखालका कृष्ण तिमल्सिना पनि मुटुमा नेपाल र देहमा दौरा, सुरूवाल अनि साडी पेटिकोट बोकी हिँड्नेमध्ये एक हुन्। भन्छन्, ‘अहिले पनि पेटिकोट, सारी र दौरा सुरूवालको सेट साथमै छ। संस्कृति त देखाउनै पर्यो नि।’

चीनको राजधानी बेइजिङदेखि ३०० किमी पूर्व, हपै प्रान्तमा पर्ने छिन्ह्वाङ्ताउको पोहाइ समुद्र किनारमा एउटा होटल छ। चिनियाँ, भारतीय र पश्चिमा रेस्टुरेन्टमा काम गर्नैका लागि सन् २००६ मा उनी चीन भित्रिएका थिए। चीनमा पनि कुनै विदेशीले काम गर्न पाउँछ भन्ने नै पहिलो पटक सुनेका तिमल्सिनाको हुट्हुटी झण्डै झण्डै ठप्प भयो जतिखेर उनको डकुमेन्ट नै अपुग भनियो।

पर्यटक भिसामा चीन छिरेका उनलाई एक महिनाभित्रै जेड (रोजगार) भिसा बदल्नुपर्ने थियो, नेपाल वा मकाउ गएर। नेपाल छोडेको एक महिना भा’छैन, फर्कियो भन्ने थाहा पाए भने आफन्त साथीभाइले खिसीट्युरी गर्ने चिन्ता। उनले दोश्रो विकल्प रोजे। एकजना फिलिपिनि साथीलाई मकाउमा खबर गरे। सबै कागजात ठिक्क पारे। भोलिपल्ट मकाउस्थित चिनियाँ भिसा कार्यालय पुगेपछि उनलाई डकुमेन्ट नपुगेको बताइयो।

उनका निधारमा पसीना चिट्चिटाउन थाले। अब यहाँ हेल्थ सर्टिफिकेट कहाँबाट ल्याउने? परेन फसाद!

फिलिपिनी साथीले त्यहाँबाट फर्किन सुझाए। फर्किने नै भएपछि अरू एक दुई दिन सोचौं न त भन्दै उनी मकाउकै होटलमा नुन खाएको कुखुरो झैं भएर फर्किए। आफूसँग रहेको झोला पुरै खोतलखातल् गरे। चीन आउनुअघि पाटनको कुनै अस्पतालमा बनाएको एउटा स्वास्थ्य रिपोर्ट भेटियो अंग्रेजी र चिनियाँ लिपिको।

ओठतालु सुकिसकेका बेला मरूभूमिमा पानीको मुहान नै भेटेजस्तो भयो उनलाई। तर प्रशासनिक माग बमोजिम डकुमेन्ट सही हो होइन अझै यकिन थिएन।

भोलिपल्ट दिउँसो त्यही कागज बोकेर आशाको त्यान्द्रो हल्लाउँदै उनी भिसा कार्यालय पुगे।

ओके!

अब उनलाई अरू के चाहियो र? खुशीले फुलेल् फुलेल्। फिलिपिनोलाई लिएर क्यासिनोको राजधानी भनिने मकाउ टापूमा खुशी मनाए।

छिन्ह्वाङ्ताउ सी भ्यू होटलमा ९ वर्ष बिताएपछि उनी उत्तरपूर्वी ल्याउनिङ प्रान्तको पुलम्यानमा १ वर्ष र फेरि युन्नान प्रान्तको सिश्वाङपान्नास्थित वान्ता भिस्टा रिसोर्टमा १० महिना अल्मलिए। घुम्दैफिर्दै रूम्जाटार भने झैं उनी छिन्ह्वाङ्ताउमै फर्किए।

चीनका ४ वटा शहरमा काम गरेको र दुई दर्जन शहर घुमेको दृश्य छ उनका आँखामा। शुरूदेखि नै रेस्टुरेन्ट एण्ड बार म्यानेजरको रूपमा काम थालेका तिमल्सिना फुड एण्ड बेभरेज (एफ एण्ड बी) सहायक म्यानेजर, म्यानेजर, डाइरेक्टर हुँदै अहिले होटल म्यानेजरका रूपमा कार्यरत छन्। १२ वर्षमा खोला फर्किन्छ भनेजस्तै भयो। पुनः चिनियाँ सरकारी होटलमा उनको माग भयो। पुरानो भरोसा र विश्वासकै कारण होटल म्यानेजरको रूपमा उनलाई पुनः डाकियो।

काभ्रे, पाँचखालमा उनको पुग्दो खेतबारी छँदै थियो। नगरकोटको क्बल हिमालयमा जागिर पनि खाँदै थिए। तर कहिल्यै विदेश जाने नसोचेका उनको भाग्यले कता कताबाट डोर्याएर उत्तरी हिमाल कटाइदियो।

अरनिको राजमार्ग हुँदै ल्हासा पुगेका कृष्णले जीवनमा पहिलो पटक विमान चढे। त्यसअघि खासा नै उनले बुझेको चीन थियो। तर चीनमा बिरलै पाइने काम गर्ने अवसरका लागि खुट्टो उचालिरहेका बेला परिवार नै बाधक बन्ने भयो। उनले घरपरिवारको गोलमेच सम्मेलन बोलाए। अन्नतः १ वर्षमा फर्किने गरी स्वीकृति पाए। आमा, श्रीमती र तीन छोराछोरीको कमाण्डिङ गरिरहेका आचार्य यतिखेर आफूमुनि २ सय बढी कर्मचारीसहित पूरै होटेलको कमाण्डिङ सम्हाल्छन्।

चिनियाँमा ‘निहाउ’ पनि गलत उच्चारण गर्थे रे। बेइजिङ विमानस्थलमा प्लेकार्ड उठाएर उभिरहेको मान्छे देखे। उसैको गाडीमा चढे, त्यहींबाट उनको भाषिक समस्या प्रारम्भ भयो। चिनियाँ चालकले के भन्थ्यो, उनी बुझ्दैनथे। उनी के भन्थे, चालक बुझ्दैनथ्यो।

चीनमा सन् २००८ मा ओलम्पिक खेल हुँदैथियो। त्यति नै बेला चीनमा अंग्रेजी सल्बलाउन थाल्यो। छिन्ह्वाङताउ पनि ओलम्पिकको अफिसियल होटल थियो। जहाँ १३ देशका फुटबल खेलाडी थिए। उनी इन्चार्जका रूपमा त्यहाँ बोलाइएका।

होटलमा छिर्ने बित्तिकै देब्रेपट्टि भित्तामा झुण्ड्याइएका १३ देशका खेलाडीहरूको बिचमा देखिन्छन्, इन्चार्ज तिमल्सिना। रोनाल्डिन्हो लगायतका त्यतिबेलाका स्टार खेलाडीसँग उनको फोटो हेरिसकेपछि अलिभित्र जाँदा ओलम्पिक कर्नर देखिन्छ, जहाँ प्रत्येक देशका खेलाडीले हस्ताक्षर गरेका फुटबलहरू देखिन्छन्।

अघिदेखि नै चीनमा लामो समय काम गर्ने गरी केही विदेशीहरू त्यो होटलमा बस्दै आएका रहेछन्। तर त्यहाँका कर्मचारी अंग्रेजी नबोल्ने भएकाले उनलाई चिठ्ठा पर्यो। उनी त्यहाँ जागिरे भए तर उनका सहकर्मी स्टाफ कसैले पनि अंग्रेजी नजान्ने। जे चाहिए पनि आफैं कुद्नुपर्ने। एक महिनामै उनी लखतरान् भए।

बेलायती म्यानेजर अघि गएर उनले सुनाए, ‘सरी बोस्, आई कान्ट वर्क एनि मोर (अब म काम गर्न सक्दिनँ)।’

बेलायती म्यानेजरले उनको ब्रेनवाश गर्दै भन्यो, ‘जुन देशमा गएपनि भाषिक कठिनाइ त हुन्छ। अरू दुईचार दिन दिमागलाई आराम देऊ, अनि आऊ।’

उनी होटलबाट सीधै बजारतिर गए र शब्दकोष किने। दैनिक २ वटा शब्द सिक्न थाले। चिनियाँसँग कनीकुथी बोल्न थाले। भाषा जान्दै गएपछि चिनियाँ जीवनशैलीमा रस पस्न थाल्यो। पैसा त कमाए, ठाँवैपिच्छे अनगिन्ती साथीहरू पनि कमाए। सीधा प्रश्नको सीधा जवाफ दिन संकोच मान्ने तिमल्सिनाले भने, ‘साथीहरू त कति पुगे भनेर गन्ने कुरा भएन, बताइरहनु पर्ने कुरा पनि भएन। फूलको आँखामा फुलै संसार।’

सबै स्टाफले मन पराए भने कोही पनि हाकिम बनिरहन सक्दैन। त्यत्रा साथीभाइ र कर्मचारीहरूमाझ उनी अधिकांशका नजरमा ‘सरिफ’ दरिन्छन्। उदार मनको भएकाले उनीहरूमाझ संस्कृतिको कुरा पनि आउँछ। संस्कृति जगेर्ना हेतु उनले होटलमै शुरू गरे, नेपाली शैलीको नाचगान र सांस्कृतिक कार्यक्रम। उनले भने, ‘संस्कृति देखाउनकै लागि भनेर जहाँ जहाँ जान्छु, त्यहाँ त्यहाँ वार्षिक पार्टी र दिपावलीमा नेपाली नाचगान संयोजन गर्छु। आफैं महिला वा पुरूष भएर नाच्छु, आफैं गाउँछु। चिनियाँहरूलाई पनि नेपाली संस्कृतिमा भिजाइदिन्छु।’

संस्कृतिमा भिज्दाभिज्दै उनी चीनको विकासतर्फ मोडिन्छन्। चीन यतिखेर इन्जिनियरिङ र प्रविधिमा अघि छ। यो कुरा नेपालले सिक्नसक्छ। ‘तर नेपालीहरूमा एउटा आदत के छ भने जुन सरकार भएपनि दोष दिइहाल्ने, यही नै हाम्रो ठूलो भूल हो’, कुनै पार्टी विशेषको पक्ष नलिइकन उनले भने, ‘देशमा स्थिरता होस्, चीनजस्तै विकास होस्, जुनसुकै सरकार आएपनि हामीलाई मतलव भएन। इच्छाशक्ति भयो भने नेपालीहरूले गरिखाने केही न केही अवसर नेपालमै छ।’

नेपाल नै नचिन्ने चिनियाँहरू पनि छन्। तर चिनेकाहरूले भारतभन्दा बढी माया र विश्वास गर्छन्। कथंकदाचित ‘गरीब नेपाली’ भन्ने सुने भने उनी पनि के कम– भन्छन्, ‘हो चीन धनी छ, नेपाल गरीब छ। तर चिनियाँ भन्दा नेपाली धनी नै छन्। नेपालीसँग जमीन हुन्छ। पूर्खाको सम्पत्ति हुन्छ। चिनियाँको सम्पत्ति त ७० वर्षका लागि मात्रै न हो।’

नेपालीमा मानसिक समृद्धि आवश्यक रहेको उनी देख्छन्। ‘नेपालको बाटोघाटो राम्रो छैन, धुलो धुँवा, अव्यवस्था छ’, उनी भन्छन्, ‘तथापी नेपालीसँग जीवनभरका लागि केही चीज छ, सानै भएपनि एक टुक्रा जमीन छ।’

सम्बन्धित् समाचार