बरण्डामा उभिएर मेरै बाटो हेरिरहेकी ऊ कोठाभित्र पस्दा नपस्दै विस्फोट भई ” मलाई तिम्रा गर्लफ्रेन्ड जति सौता जस्ता लाग्छन् ,झन् त्यो सरला किन तिम्रो काँधमा काँध मिलाएर हिँड्छे ?”
” के सम्बन्ध छ तिम्रो त्यो सँग ? त्यो बिचमा आएकी कि ,म बिचमा आइपुगेँ हँ ??
उसको यस्तो अप्रत्याशित प्रश्नले मलाई एक पटक खङ्रङ्ग बनाउँछ । चोरी पक्रिएको मेरो पुरुषत्व डग मगाउँछ । आशङ्काको आगो ओकलेको उसको प्रश्नले एकाएक ऊ प्रति तीव्र वितृष्णा जस्तो पनि पलाउँछ, जब मैले बोलिहाल्न उचित शब्द भेटिनँ, त्यसपछि झन्डै झन्डै हात उठिसकेको थियो मेरो । सोफामा असरल्ल रहेका लुगा पट्याउँदै दराजमा राख्न लागेकी ऊ मेरो मौनतामाथि विजयको हुँकार छोड्छे अझै र भन्छे ” बोल्ने ठाउँ राखेको भए पो सक्नु ?त्यो अर्काकी स्वास्नी , बच्चाकी आमासँग कस्तो लसपस हो तिम्रो ?”
म तिम्रो स्वास्नी मात्रै होइन ,तिमी मेरो प्रेम पनि हौ । मलाई तिम्रो प्रत्येक धड्कनको पूर्वानुमान हुन्छ । त्यो कसको र कस्तो नाममा धड्केको छ तिमीले छलेर छलिन्न ।”
म सुने नसुने झैँ अस्थिर मन टिभीको स्क्रिनमा एकत्रित गर्न खोज्छु , मोबाइलमा टिङटिङ गरेर न्यु म्यासेजको सङ्केत देखिन्छ ।
ऊ एकोहोरो पुराण सुनाइरहेकी छ । म घरी टिभी, घरी मोबाइलको म्यासेज बक्समा आँखा कुदाउँछु । म्यासेज बक्समा १,२,३ गर्दै ७,८ ओटै इनबक्स जम्मा भइसके । म पुरै बेवास्ता गरिरहेको छु ,कारण अगाडि हतकडी लगाउने तरखरमा छे ऊ ,अर्थात् मेरी जीवनयामिनी ।
सरला मेरो कलेज पढ्दाखेरीकी सहपाठी । प्राय एउटै बेन्चमा बस्थ्यौँ ।धेरैजसो क्लास सकिँदा लगभग म पनि उसको पूरा स्केच बनाएर सक्थेँ । अनि ऊ ती चित्रहरूलाई उसका गुलाबी ओठको छाप बस्ने गरी चुप्पा गर्थी र चित्र सहित चम्पट हुन्थी ।
भोलि ,भोलि र फेरि अर्को भोलिहरु पनि यसै गरी बिते र ऊ त्यसै गरी चित्र लिएर भागेकी फेरि जीवनको आधा अध्याय सकेर मात्रै भेटिई ।
सादा थिई,रङ्गिन भइछ । रङ्गहीन पनि सुन्दर थिई, अहिले रङ्गिन विरुप भइछ । प्रेममा पहिलोपल्ट हारेको आभास गरेँ ।
साथी र लेक्चररको आँखा छलेर मेरो हातका अौँला खेलाउँथी र भन्थी “कस्तो चिसो छौ के तिमी ” , “चिसो अौँला हुनेहरूको लभ true हुन्छ नि त” म उसले छोइरहोस् भनेर हौवा बनिदिन्थेँ । ऊ मेरा आँखामा एकदम बेग्लै गरी हेर्थी र भन्थी ” कसम ?”
बदलामा म उसको अौँलामा बेस्सरी नङ गाडिदिन्थेँ, ऊ आँखा चिम्लन्थी र निस्सासिएर गहिरो सास फाल्थी ।
कहिलेकाहीँ मेरा स्केचमा ऊ आफूलाई भेट्दैनथी र मेरो मेहनत च्यातेर डस्बिनमा हालिदिन्थी । यसरी सरला मेरो जीवनमा याद बनेर रही, उन्माद चढेर आई अनि न्यास्रो बनेर बेपत्ता भएकी थिई ।
लगभग दुई दशकपछि फेसबुकमा भेटिई र फेरि मलाई त्यही क्याम्पसको लास्ट बेन्चमा पुर्याएर मेरो अौँला मात्रै होइन मुटु पनि छामिरहेकी छ । ऊ सँग छुटेपछिका मेरा चित्रहरूमा उसैलाई खोजिरहेकी छ । तर पहिला जस्तो बहुलाएर च्यातिदिएकी छैन, हेर्छे, हेर्छे अनि थकित सुस्केरा छोड्छे र भन्छे ” मलाई तिम्रो कुचीमा सजिन लेखिएकै रहेनछ नि ” । म मौन रहन्छु । ऊ अङ्गालिन चाहन्छे, छुन चाहन्छे ,मेरो काँधमा ,मेरो छातीमा पोखिन चाहन्छे । जब उसको तातो श्वासले मेरो निधार चुम्छ म हताश हुन्छु र जुरुक्क उठेर बाटो लाग्छु । जान्छु पनि भन्न सक्दिनँ ,यसो नगर म अरूको भइसकेँ ,तिमी अर्कैको भइसक्यौ पनि भन्न सक्दिन ।
एक पाखो मन त्यही सरलाको आँखामा पिलपिलाइरहेका आँसुमा छोडेर म भर्खरै मात्रै कोठामा छिरेको हुन्छु र यसरी केरकारमा परेको छु । मलाई थाहा छ, मोबाइलको म्यासेज बक्स उहीँ सरलाले भरेकी हो , गुनासो होला, आँसु होला, तिक्तता , रिस, अाक्रोस्, प्रेम के के लेखेकी होली । यता ऊ उग्र भएकी छ र यो सबुद भेट्नु भनेको उसका आरोपहरू सही सत्य हुनु मात्रै होइन , पारपाचुके सम्मको परिणाम सुनिश्चित हुनु पनि हो । म जीवनमा दोस्रोपल्ट आफ्नै प्रेमसँग हार्छु र हतार हतार नपढिएको इन्बक्स म्यासेज डिलिट गरिदिन्छु र उसको नम्बर ब्ल्याक लिस्टमा हालिदिन्छु । जल्दै गरेको घर पानी छम्केर निभाए जत्तिकै शीतल महसुस भो । मेरो हातको मोबाइल खोसेर ऊ मेरो म्यासेज बक्स या फेसबुक च्याट चेक गर्ने खालकी होइन । अाजसम्म त्यसो गरेकी छैन र पनि आज अज्ञात भयले म निलो भएको छु ।यो चिसो मौसमलाई च्यालेन्ज गर्दै मलाई पसिनाले लत्पताएको छ ।
मेरो यो अस्वाभाविक मौनताले ऊ फतफताउन छोड्छे र नजिकै अाएर मेरो निधार छाम्छे , हनहनी तातेको मेरो टाउकोमा मसिना अौंलाहरु (जो यो चिसोमा लुगा पट्याउँदा पट्याउँदै चिसिएका छन् ) खेलाउँछे मलाई एक किसिमको बेग्लै सन्तुष्टि मिल्छ । प्याट्ट मेरो कुममा हिर्काउँदै भन्छे ” अघि नै भन्नू पर्दैन सन्चो छैन भनेर ?”
म उसलाई हेरेर फिस्स हाँस्छु । सम्झन्छु चिसा अौँलाको ट्रु ( true ) लभ ।