चितवन । भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ । समाचारकाे अनुसार एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको हो । नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस्था छ । तर, चितवन मेडिकल कलेजले सरकारको निर्णय अवज्ञा गर्दै एक विद्यार्थीबाटै लाखौं रुपैयाँ असुल गरिरहेको छ ।
‘१२ लाख ५० हजारको ५० प्रतिशत ६ लाख २५ हजार रुपैयाँ पहिलो किस्ता स्वरुप कलेजले मागिरहेको छ’, एक अभिभावकले नाम नबताउने शर्तमा भने, ‘अतिरिक्त शुल्क नबुझाए विद्यार्थीलाई कक्षा कोठामा बस्न नदिने र पढ्न नचाहेको भनेर निकालिदिने चेतावनी दिएको छ ।’ अधिकांश अभिभावकबाट कलेजले शुल्क लिएको छ भने नदिने अभिभावकलाई पटक–पटक फोन गरेर टर्चर दिने गरेको छ ।
विद्यार्थीबाट अवैध असुलेको पैसाको रिसिभ दिइएको छैन भने चेक मार्फत रकम लिन पनि अस्वीकार गरिएको छ । नगद पैसा दिन र चितवन मेडिकल कलेजको नाममा चेक नकाट्न आग्रह गर्दै कलेजको नामको चेक नलिएको अभिभावकको गुनासो छ । कुन शीर्षकमा केका लागि रकम मागिएको हो, त्यसको जानकारी समेत कलेजले विद्यार्थी र अभिभावकलाई दिएको छैन । एमबिबिएस संगै कलेजले अन्य फयाकेल्टिको पनि अबैध शुल्क लिइरहेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।