कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। गत बर्ष भएको तीन तहको निर्वाचनमा पार्टीलाई नसघाएको र तोकिएका आधिकारिक उम्मेदवारविरुद्ध छुट्टै उम्मेदवारी दिएको आरोपमा जोशीलाई साधारण सदस्यसमेत नरहने निकालिएको हो।
जोशीको प्रस्तावक र समर्थकमा हरिशरण पण्डित र रामदेव पन्त थिए। पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख, तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरूको पार्टी सदस्यता खारेज गरिएको जनाइएको छ।
तनहुँमा जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए। जोशीका कारण पार्टी निर्वाचनमा पराजित भएको भन्दै पार्टी अनुशासन समितिमा उजुरी परेको थियो। ।
गत वर्षको निर्वाचनपछि कांग्रेसभित्र व्यापक अन्तर्घात भएको भन्दै अनुशासन समितिले देशव्यापी पार्टीभित्रका उजुरी संकलन गरेको थियो। केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा रहेको समितिले पाँच सय उजुरी संकलन गरेर करिब तीन सयलाई स्पष्टीकरणसमेत सोधेको थियो। तर पछि सभापति, वरिष्ठ नेतासहित पार्टीका शीर्ष नेताले आआफ्नो क्षेत्र विशेषमा कारबाहीका लागि समितिलाई दबाब दिन थालेपछि रिजालले वैशाखमा समिति संयोजकबाटै राजीनामा दिएका थिए।