गृहपृष्ठ Featured झापामा १ हजार विगाहामा अर्गानिक खेती सुरु,

झापामा १ हजार विगाहामा अर्गानिक खेती सुरु,

प्रकाशित मिति:


नेपालको एउटा प्रमुख व्यवसायिक घराना गोल्यान ग्रुपले अर्गानिक खेतीमा बृहत लगानीको थालनी गरेको छ। झापा जिल्लामा १ हजार विगाहामा अर्गानिक खेती गर्ने तयारी गरेको गोल्यान ग्रुपले थप २ सय विगाहा जमिन खरिद प्रक्रिया टुंग्याइसकेको छ।

झापाको मदरगाछ, चकचके, घेराबारी वरपर गोल्यान ग्रुपले खरिद गरेको जमिनमा कागती, मेवा, खरबुजाको खेतीसमेत सुरु भैसकको छ। त्यो सबै अर्गानिक हुने गोल्यान ग्रुपका अध्यक्ष पवन कुमार गोल्यान बताउँछन्।

टेक्सटायल, आवास, वित्तिय क्षेत्रमा लगानी गर्दै आएको गोल्यान ग्रुपको कृषिमा लगानी नयाँ हो।

कृषिमा ठूला व्यवसायी घरना आउन नसकेको आरोप लागिरहेका बेला गोल्यानले प्रदेश १ र २ मा लगानी बढाउने योजना बनाएका हुन्।

अहिले तराई भेगमा १ हजार विगाहा जमिनमा कृषि खेती गर्दै जाने र पहाडी भेगमा समेत खेती गर्ने योजना रहेको छ। पहाडी क्षेत्रका लागि भने कति जमिनमा के लगाउने, कसरी, कहाँ, खेती गर्ने भन्ने योजना अहिले बनिरहेको अध्यक्ष पवन गोल्यानले जानकारी दिए।

कुनै पनि रासायनिक पदार्थ प्रयोग नगरिकनै कृषिको उत्पादन गरेर देखाउने उनको योजना छ। रासायनिक पदार्थको कारण रोग व्याधीहरु वृद्धि भैरहेको अवस्थामा गोल्यान ग्रुपले पूर्ण अर्गानिक उत्पादन गर्नेछ।

गोल्यान ग्रुपले अहिले खरिद गरेको जमिनमा उत्पादन भएको वस्तुले तत्काल अन्तर्राष्ट्रिय अर्गानिक सर्टिफिकेट भने पाउँदैन, त्यसका लागि ३–४ वर्ष कुर्नुपर्ने हुन्छ। पहिले रासायनिक पदार्थ प्रयोग भैसकेको जमिन भएको हुनाले अहिले नै पूर्ण अर्गानिक उत्पादन गर्न सम्भव हुँदैन र त्यो माटोले उत्पादन पनि राम्रो दिन सक्दैन।

अर्गानिक उत्पादन पहिलेको जस्तै दिन २–३ वर्ष कुर्न पर्ने हुन्छ। गोल्यान ग्रुप निरन्तर अर्गानिक उत्पादन गर्दै उत्पादन वृद्धि गर्दै जाने योजनामा छ।

थप २ सय विगाहा जग्गा खरिद गर्न अध्यक्ष गोल्यानले एसबीआई बैंक र जनता बैंकबाट करिब ४० करोड रुपैयाँ ऋण लिएका छन्। माटो परीक्षण तथा बाली लगाउने लगायतका अन्य अनुसन्धानसमेतका लागि थप २० करोड रुपैयाँ खर्च हुने अनुमान छ। गोल्यान ग्रुपका अध्यक्ष पवन कुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष हुन्।

तर त्यही बैंकबाट ऋण लिएर काम गर्न नमिल्ने भएकाले उनले अरु बैंकबाट लिएका हुन्।

दुई सय विगाहा जमीनमा पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको अध्यक्ष गोल्यानले बताए।

‘झापालाई हामी एग्रि प्रोसेसिङ जोन बनाउन चाहन्छौं’, उनले अर्गानिक खेती स्थल झापामा नेपालखबरसँग भने, ‘आफू पनि अर्गानिक खेती गरिरहेका छौं, अरु किसानलाई पनि अर्गानिक खेती सिकाइरहेका छौं।’

अब उत्पादनसँगै बजारमा कसरी अगाडी बढ्ने भन्ने योजना बनाइरहेको उनी बताउँछन।

अर्गानिक खेतीको बजार व्यवस्था योजना
गोल्यान ग्रुपले एनएमबी बैंक र आश्रय नेपाल संस्थासँग मिलेर अहिले झापाको दक्षिणी भेगलाई अर्गानिकमय बनाउने तयारीका साथ तरकारी खेतीमा काम गरिरहेको छ। त्यसका लागि ‘माटो’ ब्राण्ड स्थापना गरी सुरुमा झापाको स्थानीय र काठमाडौंलाई टार्गेट गरी बजार व्यवस्थापन गर्ने तयारी गरेको छ।

गोल्यान ग्रुपले उत्पादन गर्ने फलफूल पनि उक्त ब्राण्डको नामबाट नै बिक्री वितरण हुनेछ। उत्पादन काठमाडौं तथा विदेशमा समेत निर्यात गर्ने योजना छ।

बुहारी लतिकाले हेर्नेछिन् कृषि 
गोल्यान ग्रुपका अध्यक्ष पवन कुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष हुन्। गोल्यान ग्रुपको अन्य वाणिज्य बैंकहरुमा पनि लगानी छ त्यस्तै बीमा कम्पनीहरुमा पनि ठूलै लगानी रहेको छ। त्यसकारण उनले अहिले बैंक तथा वित्तिय संस्थालाई नै निगरानीमा राख्ने छन्।

त्यस्तै उनका छोरा अक्षय गोल्यान टेक्सटायल उद्योगलाई बढी निगरानी गररहेका छन्। नेपाललाई बंगलादेश जस्तै वृहत टेक्सटायल क्षेत्र बनाउने र निर्यात बढाउने योजनामा दत्तचित्त भएर लागेका छन् अक्षय।

त्यसैले गोल्यान ग्रुपमा कृषिको निगरानी बुहारी लतिका गोल्यानले गर्नेछिन्। उनले झापामा रहेको कृषि फार्म र नजिकका कृषकहरुसँग सम्बन्ध विस्तार र व्यवसायीकरणमा भिज्न कोशिस गरिरहेकी छन्

प्रकाशित ७ माघ २०७५, सोमबार |

सम्बन्धित् समाचार