गृहपृष्ठ खबर विप्लवको गृह कपिलवस्तुमा प्रहरी समुदाय साझेदारी कार्यक्रम

विप्लवको गृह कपिलवस्तुमा प्रहरी समुदाय साझेदारी कार्यक्रम

नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवको गृह गाउँ शिवगढीमा प्रहरी समुदाय साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरीसँग समुदायको बढेको दुरी घटाउन जिल्लाको शिवराज नगरपालिका– ९ शिवगढीको भगवापुर गाउँमा प्रहरी र समुदाय बिच साझेदारी कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय समुदाय र प्रहरी बिच सम्बन्ध सुदृढ बनाउन कार्यक्रम गरिएको हो । गत फागुन २३ गते प्रहरीले शिवगढीमा सर्च अप्रेसन सञ्चालन गरेपछि प्रहरी र त्यहाँका समुदाय बिच दुरी बढेको थियो । माओवादी सशस्त्र युद्धकालनि समयमा शिवगढी माओवादीको आधार शिविर थियो । शिवगढीमा नै विप्लवको घर र उनका अधिकांश समर्थकहरू छन् । उक्त सर्च अप्रेसनमा विप्लव समूहका नेता दुर्गा बहादुर रोकालाई हतियार सहित पक्राउ गरेको थियो । सोही सर्च अप्रदेशनकै क्रममा नेपाल राष्ट्रिय आधारभूत मा. वि. का प्रअ यादव चन्द्रलाई पक्राउ गर्न खोज्दा विद्यार्थी र स्थानीयले अवरोध गरे पछि प्रहरी पछि हटेको थियो । तिनै विद्यार्थीको सहभागिता र प्रअ चन्द्र कै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो । गत फागुनमा प्रदर्शनमा उत्रेका विद्यार्थी, शिक्षक अभिभावकहरू प्रहरीले गरेको कार्यक्रममा भने हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जनाए । सो अवसरमा प्रअ चन्द्रले आफूले अपराध न्यनीकरण र शान्ति स्थापनामा प्रहरीलाई साथ दिने प्रतिबद्धता जनाए ।

‘समाजलाई अपराधयुक्त बनाई भयमुक्त बनाउने हाम्रो पनि दायित्व हो, यस्तो कार्यक्रममा प्रहरीलाई मेरो साथ छ’ उनले भने । सो अवसरमा प्रदेश नम्बर ५ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पीताम्बर अधिकारीले समाजको उत्थान र शान्ति स्थापनाकालागि सबै नागरिक प्रहरी बनी पहरेदारी गर्नु पर्ने बताए । देशब्यापीरुपमा भइरहेका विस्फोट, हत्या हिंसा बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले संविधान र कानुन विपरीत भएका यस्ता काम प्रहरीको एक्लो प्रयासले मात्र सफल हुन गाह्रो पर्ने बताए । उनले बालबालिकाहरूलाई विभिन्न अपराधमा प्रयोग गरी पीडित बनाइएकाले उनीहरूलाई जोगाउन समेत समुदाय सचेत हुनु पर्ने बताए । सो अवसरमा विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी अभिषेक थापाले कार्यक्रमबाट बालविवाह, बलात्कार, लैङ्गिक हिंसा, लागु औषध लगातयका विषय जान्ने मौका पाएको बताए । ‘ प्रहरी देख्दा नै डर लाग्थ्यो अहिले प्रहरीले नै हामीलाई विद्यालयमा आएर धेरै राम्रा कुरा सिकाए ’  उनले भने ‘ हामी बालबालिकाहरूले पनि अपराध घटाउन प्रहरीलाई सहयोग गछौ ’ उनले भने ।

प्रहरी उपरीक्षक दीप शमशेर राणाले प्रहरी र समुदाय बिच सुमधुर सम्बन्ध कायम राख्न विकट शिवगढीमा कार्यक्रम राखिएको बताए । गत फागुनमा भएको घटनाले प्रहरी र समुदाय बिच बढेको दुरी हटाउन कार्यक्रम सहयोगी बनेको उनले बताए । उनले अपराधयुक्त जिल्ला बनाउन समुदायलाइृ प्रहरीसँग हातेमालो गर्न अपिल गरे । कार्यक्रममा ९० जना बढीको सहभागिता थियो ।

सम्बन्धित् समाचार