गृहपृष्ठ खबर पिपिएलको उपाधि चितवन राइनोजलाई, फाइनलमा विराटनगर ३२ रनले पराजित

पिपिएलको उपाधि चितवन राइनोजलाई, फाइनलमा विराटनगर ३२ रनले पराजित

प्रकाशित मिति:

चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जितेको छ ।शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि जितेको हो ।पोखरा रंगशालामा भएको फाइनलमा चितवन राइनोजले दिएको २०३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको विराटनगर टाइटन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमात्रै जोडेको थियो ।

विराटनगरले खराब सुरुवात गरेको थियो । विराटनगरले सुनिल धमला र लोकेश बमलाई सुरुवाती ओभरमा नै गुमाएको थियो । धमला ४ बलमा एक चौका प्रहार गर्दै दोस्रो ओभरमै आउट भएका थिए । उनलाई चितवनका सनी पटेलले बल्ड आउट गरेका हुन् ।त्यस्तै बमलाई चितवनका करण केसीको बलमा बाबर हायतले क्याच आउट गरेका थिए । बमले १ रन मात्रै जोडेर आउट हुन पुगेका हुन् ।साथै नोमन खान १८ बलमा २ चौकासहित १८ रन बनाएर आउट भएका  थिए । उनलाई आरिफ शेखले रन आउट गरेका हुन् ।

 

विराटनगरका मोहम्मद जायद आलमले अर्धशतक पार गरे पनि उनको टोलीले जित निकाल्न सकेन । आलमले ४८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाएर आउट भए । उनलाई रोहन मुस्ताफाको बलमा भुवन केसीले क्याच आउट गरेका थिए । त्यस्तै पुनित मेहरा १३ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाएर आउट भए ।साथै विराटनगरका प्रदिप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाउँदै पेभिलियन फर्किए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । चितवन राइनोजले कप्तान पारख खड्का र बाबर हायतलाई खेलको सुरुमा गुमाएको थियो । खड्का २५ रन बनाएर आउट भएका थिए ।खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित उक्त रन जोडेका हुन् । उनलाई किशोर महतोको बलमा नोमन खानले क्याच आउट गरेका थिए ।त्यस्तै बाबर हायत ५ बलमा ५ रन जोडेर आउट भएका थिए । उनलाई मोहम्मद जायद आलमले आउट गरेका थिए ।

तर चितवनका लागि रोहन मुस्ताफा र अनिल साहले उत्कृष्ट साझेदारी गरेका थिए । दुबै जनाले ६३ बलमा ९५ रनको साझेदारी गरेका थिए । साथै दुबैजना अर्धशतक बनाएर आउट भएका थिए ।रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित ५० रन बनाए भने अनिलले ३४ बलमा ३ चौका र ३ छक्कासहित ५० बनाए । त्यस्तै चितवनका आरिफ शेख ११ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाएर आउट भए ।

यता चितवनका करण केसीले ८ बलमा २ चौका र २ छक्कासहित २६ रन र सनी पटेलले ८ बलमा २ चौकासहित १६ रन  बनाउँदै अविजित रहे ।विराटनगरका लागि पुनीत मेहरा र मोहम्मद जायद आलमले समान २ विकेट लिए । त्यस्तै किशोर महतोले एक विकेट लिए ।यता चितवनका लागि करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । सनी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।

चितवन लिग चरणमा ५ वटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको टोली हो । टुर्नामेन्ट भर अविजित रहेको चितवन राइनोज यस पटक पिपिएलको उपाधि जित्न समेत सफल भएको छ ।विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको थियो । क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो ।यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार