गृहपृष्ठ प्रदेश नं ५ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका ४ धारापानीमा मोटरसाइकल दुर्घटना र वडा नम्बर १० धनचौरमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताए ।

भूमिकास्थान नगरपालिका ४ साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तीको ज्यान गएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० वर्षीय घर्तीको उपचारका लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो। घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवैजनाको उपचार भइरहेको छ।

त्यस्तै, भूमिकास्थान नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ट्याकटर चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्‍वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

भूमिकास्थान नगरपालिका १० धनचौरको लक्ष्मीडाँडामा देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्याक्टर चिप्लो बाटोमा उकालो चढ्न नसक्दा दुर्घटना भएको हो।

सम्बन्धित् समाचार