तिलोत्तमा–५, कि मथुरा न्यौपाने प्रत्येक बिहान पसल खोल्छिन् । सामान बिक्री गर्नुभन्दा पहिले वरपरका प्लास्टिक संकलन गर्छिन् । एक वर्षयता फोहोर देखिन्न । तैपनि निगरानी गर्ने बानी परेको उनले बताइन । तिलोत्तमा नगरपालिकाले ‘प्लास्टिक शून्य’ बनाउने अभियान थालेपछि सडकदेखि घरसम्म सफा छन् । प्लास्टिक देखिँदैन ।
प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न थालेपछि सार्वजनिक स्थल चिटिक्क बनेका छन् । स्थानीय खुमानन्द घिमिरेले घर, टोल र बजार क्षेत्रको फोहोर नगरपालिकाको गाडीले संकलन गरेर लैजाने बताए । स्थानीयले बोरा वा डस्टबीनमा जम्मा गरे पुग्छ । ‘फाइबरका झोला प्रयोग गर्छौ,’ उनले भने, ‘खेतबारी प्लास्टिकविहीन भए ।’ प्लास्टिक प्रयोग गरे स्वास्थ्य र वातावरणमा असर पुग्ने चेतना पाएको उनले बताए । घरअगाडि डस्टबिन राख्ने र फोहर टिपेर त्यसमै फ्याँक्ने बानी विकास भएको उनले बताए ।
नगरपालिकालाई शुक्रबार मुलुकमा प्लास्टिक शून्य र सरसफाइ उन्मुख नगर घोषणा गरिएको छ । सरसफाईका सूचक पूरा गरेपछि घोषणा गरिएको हो । घोषणापूर्व त्रिभुवन विश्वविद्यालयका वातावरण विषयका प्राध्यापकको समूहले नगरको अनुगमन गरेको थियो । त्यसक्रममा विज्ञले नगरका हरेक सडक र बस्ती सफा देखिएको प्रमाणित गरेका थिए । यहाँ बालकदेखि वृद्धसम्म सफाइ अभियानमा सरिक भएको स्थानीय जनभावना माविका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले बताए । तिलोत्तमा–११ का वडाअध्यक्ष मुक्तिनारायण चौधरीले शून्य ‘पोलिथिन’ नगर सम्भव भएको बताए । ‘ प्रत्येक दिन टोल, बस्तीमा सफाइ गरेपछि सफा भयो,’उनले भने, ‘प्लास्टिकको विकल्पका रूपमा फाइबर प्रयोग गरेका छौं ।’ गत पुसदेखि वडाभित्र सातामा एक दिन टोल सफा गर्नुपर्ने नियम बनाएकोउनले बताए ।
नगरका क्लब, टोल, संघसंस्थासँग सहकार्य गरेर प्लास्टिक प्रयोगमा कमी ल्याएको र पुनः प्रयोगको अवधारणा सुरु गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । ‘प्लास्टिकमुक्त बनाउन नगरवासीको सहयोग रह्यो,’ उनले भने, ‘शून्य प्लास्टिक नगरपालिका बनेकामा गर्व लागेको छ ।’ ‘मेरो खल्ती, मेरो पहिलो डस्टबिन’ भन्ने मर्म बुझेर अभियान चलाइएको उनले बताए । ‘यसलाई कायम राख्ने चुनौती छ,’ उनले भने । नगरका कुला, घर, सडक, खोलाबाट ८० हजार बोरा प्लास्टिकजन्य फोहर संकलन गरिएको उनले बताए ।
एक सय २६ वर्ग किलोमिटरमा फैलिएको नगरका बासिन्दाले जथाभावी फोहोर नफाल्ने, फालेमा कारबाही भोग्न तयार रहने कसम खाएको उनले बताए । नगरले स्थानीय पाठ्यक्रममा कक्षा एकदेखि ‘शून्य पोलिथिन’ र ‘माई पकेट, माई फस्ट डस्टबिन’ लाई समावेश गरेको उनले बताए । जथाभाबी फोहर फाल्नेलाई स्थानीय कानुन बनाएर कारबाहीको दायरामा ल्याइने उनले जनाए । अभियानलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । सार्वजनिक स्थानमा कम्तिमा एक हजार डस्टबिन राख्ने योजना छ । फोहोर संकलनसँगै संकलित फोहोरको व्यवस्थापनकालागि स्थानीय सहकारीसँग सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ । सिम नेपाल संस्थासँग सहकार्यमा सात महिनादेखि ‘शून्य पोलिथिन’ अभियान चलाइएको थियो ।
मुलुकका सात सय ५३ स्थानीय तहमध्ये तिलोत्तमाको एक सय २६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि थन्किएका प्लास्टिकजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको वातावरणविद् निपेशढाकाले बताए । ‘अभियानको सफलता माटोमाथिको विजयी हो,’उनले भने, ‘यसका लागि तिलोत्तमाले सहयोग गर्यो ।’ नगरपालिकाले थालेको अभियानमा जोडिएर जमिनको उर्वरा मेटाउने प्लास्टिकजन्य फोहरलाई शून्य बनाउने अभियानमा लागेको उनले बताए । जर्मनीमा वातावरणसम्बन्धी अध्ययन गरेर नेपालमा प्लास्टिकजन्य फोहोरले वातावरणमा पारेको असरबारे जनचेतना जगाउन सुरु गरेको उनले बताए ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला पोलिथिन शुन्य अवस्था र पूर्ण सरसफाइका सूचक पूरा गरेसँगै तिलोत्तमालाई खुला ‘शून्य पोलिथिन’युक्त र पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समिति प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रि घनश्याम भुसालले नगरप्रमुख घिमिरेलाई प्रदान गरे । कृषिमन्त्री भुसालले नगरपालिकाले राष्ट्रव्यापी अभियानको थालनी गरेको बताए ।
‘स्थानीय तहको यो प्रयास कोशेढुंगा साबित भएको छ,’ उनले भने, ‘कार्यान्वयनमा सजग भएर अघि बढ्नुपर्छ ।’ अनुगमनका क्रममा नगरबासीमा चेतनाको स्तर निकै बढेको पाइएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भैया खनालले बताए ।