कोरोनाको त्रास ! नाकानाकामा बास !!
विश्व कोरोना भाइरस ( कोभिड – १९) को महामारीको कारणले त्रसित भएको छ । नेपाल सरकारले सो महामारीलाई मध्यनजर गर्दै देश लकडाउन गरेको छ । यस्तो अवस्थामा कोरोना भाइरस संक्रमणको सम्भावना निकै न्यून रहेको छ । यो सुखद कुरा पनि हो । सरकारको यो कदम प्रशंसनीय छ । जनताले पनि यश कदमलाई भरमग्दुर साथ,सहयोग र समर्थन पनि गरेका छन् । सरकारले लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अाम जनतालाई अनुरोध पनि गरेको छ तर यस्तो अवस्थामा अहिले हरेक टोलटोलमा नाका अवरुद्ध गरेर पहरा दिने चलनले “कोरोनाको त्रास ! नाकानाकामा बास !!” भनेजस्तो भएको छ । यसतर्फ समयमै प्रशासनलगायत सम्बन्धित निकायको ध्यान पुग्नु अति जरुरी छ ।
भिडभाड नगरीकन घरमा बस्न सरकारले दिएको निर्देशनलाई लत्याउदै विभिन्न टोलटोलमा युवाहरू नाका अवरुद्ध गर्ने गरेका छन् । त्यति मात्रै होइन पहरासमेत दिने गर्दछन् । यो त “काम कुराे एकातिर कुम्लो बोकी ठिमीतिर” भनेजस्तै पो भयो । मानौँ हामी चोरीडकैति हुनबाट गाउँलाई बचाउन लागेका छौँ । यी दृश्यले त्यस्तै भान हुन्छ । यस्तो नाकाबन्दीले गर्दा कतिपय गाउँमा मेडिया, स्वास्थ्य , सुरक्षा सेवामा जानेहरूलाई कठिनाइ भएको छ भने कतिपय गाउँमा एम्बुलेन्स , दमकल , खाद्यान्न आपूर्ति जस्ता अत्यावश्यक वाहनलाई समेत बाधा पुगेको छ ।यस्तो काम जुन सरकारले समेत गर्न अनुमति दिएको छैन यो त आफ्नै खुट्टामा आफैँले बन्चरो हानेजस्तो भएन र ? भोलि आफैँलाई नै आ पत् पर्दा कुन मार्गबाट एम्बुलेन्स लैजाने हो ? सोच्नुपर्ने देखिएको छ । चैत्र महिनासँगै हुरी , बतासले पनि हामीलाई सताउने दिन आउँदै छ ।आगलागी जस्ता समस्या नआइपर्लान् भन्न सकिन्न । दमकल नै आउन नमिल्ने गरि नाकाबन्दी गर्नु कदापि राम्रो कार्य होइन । दूध , खाद्यान्न , ग्यास जस्ता अत्यावश्यक सामग्री आपूर्तिका लागि यसले निकै ठूलो बाधा सिर्जना गरेको छ ।
सरकारले घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ तर गाउँगाउँमा युवाहरू पहरा दिने गर्छन् । यसको परिणामस्वरूप झन् झन् संक्रमणको सम्भावना देखिन्छ । कुनै पनि व्यक्तिमा हुन सक्ने कोरोना भाइरस यसरी सामुहिक रुपमा बस्नाले संक्रमणको झन् जोखिम बढ्दैछ । लकडाउन अवज्ञा गर्नेहरूलाई नेपाल प्रहरीले राम्रोसँग सबक सिकाइरहेको छ । हामी आफ्नो टोलभित्र निस्फिक्रि भएर घुम्नका लागि अाफ्नो गाउँमा बार लगाएका छौँ तर के हामी ढुक्क छौँ कि हाम्रो टोलका मानिस सबै सुरक्षित छन् भनेर । कोरोना भाइरसबाट बच्ने एक मात्रै राम्रो विकल्प भनेको आफूबाहेक सबै मानिसलाई शङ्का गरेर सावधान हुनु हो तर हामी त अझै पनि अाफ्नो टोलको मानिस भनेर दशैँ बिदामा जस्तो साथीभाइसँग भेटघाट बन्द गरेका छैनौं । गाउँमा लकडाउनको फाइदा उठाउदै विभिन्न खेल खेल्ने , जूवा तास खेल्ने क्यारेम्बोर्ड खेल्ने , होटलमा जम्मा हुने , चोकमा जम्मा भएर कोरोनाकै बारेमा गफ गर्ने हाम्रो बानी सुध्रिएकै छैन ।हामीले राम्रोसँग बुझ्नुपर्छ कि कोरोना भाइरस २८ दिनसम्म पनि सामान्य अवस्थामा शरीरमा रहन सक्छ । विगत २८ दिन सम्म हाम्रो छिमेकी कुनै प्रकारले संक्रमित भएको भए के हुनेछ परिणाम ? सोच्नुपर्ने विषय भएको छ । यदि हामी सबै आआफ्नो टोलमा इमानदारीपूर्वक लकडाउनलाई पालना गर्न सक्यौं भने कुनै बाटोमा मुढा र ढुङ्गा तेर्साएर राख्नुपर्दैन । कोरोना भाइरसलाई व्यक्तिगत दुरी बढाएर मात्रै रोक्न सकिने भएको हुनाले सामूहिक रुपमा पहरा दिएर त झन् यसको स्वागत गरेको ठहरिन्छ ।
यतिबेला हरेक नागरिकले आत्मअनुशासनलाई पालना गर्नुपर्ने देखिन्छ । आफू जोगिनु नै अहिलेको समयको ठूलो उपलब्धि हो किनभने तपाईं आफू जोगिदा तपाईंको परिवार , समाज र देश जोगिएको हुन्छ । अहिले भारत तथा बिदेशबाट आएका मानिसहरू हरेक टोलटोलमा छन् यस्तो अवस्थामा आफ्नो टोल सुरक्षित छ भनेर कसैले पनि सोच्नु हुँदैन । सुखद कुरा हो कि अहिलेसम्म देशमा संक्रमित संख्या निकै न्यून छ तर यो संख्यालाई न्यून अवस्थामा नै सीमित राख्ने ठूलो चुनौती पनि हो । त्यसैले हरेक नागरिकले अहिले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ । अहिले पनि मास्क वितरण , सचेतना अभियान जस्ता कार्यक्रम चलाएको सुन्न र पढ्न पाइन्छ तर अवस्था त्यस्तो छैन । अहिलेको समय भनेको लकडाउनलाई जुनसुकै हालतमा पनि सफल पार्ने नै समय हो । लकडाउनलाई सफल पार्नका लागि नियमित साबुनपानीले हातखुट्टा धुने , तातो पानी बारम्बार पिउने,व्यक्तिगत सरसफाइमा ध्यान दिने , संक्रमणको शङ्का लागेमा एकान्त बास बस्ने, पौष्टिक आहार सेवन गर्ने , अनावश्यक घरबाहिर ननिस्कने , निस्कनै परे निश्चित दुरी कायम गर्ने , हरेक मानिसलाई संक्रमितको शङ्का गरि सावधानी अपनाउने , त्रसित होइन सुरक्षित बन्ने नै अबको समयको बुद्धिमतापूर्ण कार्य हुनेछ ।
यो समय विश्वकै चुनौतीपूर्ण समय हो । यस समयमा हामीले अात्मअनुशासन र स्वास्थ्य सुरक्षाका कुरालाई नै बढी जोड दिनुपर्छ । तसर्थ लकडाउनको समयमा हामी सबैले यसो गरे कसो होला ? “घरमै बसौं , सामाजिक दुरी कायम गरौँ , त्रसित होइन सुरक्षित बनौं ,आफू बाँचौँ , अरुलाई बचाअौँ र कोरोनालाई परास्त गरौँ ।”
लेखक:- रमेश पौडेल