बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि देखाउँथे । ‘खाना रुच्दैन,’ उनी भन्थे ।
रीता सोध्थिन्, ‘डाक्टर आउँछन् कि नाई? एक्लै हो कि साथी छन्, के औषधि चलाएका छन्?’ बाबुराम भन्थे, ‘डाक्टर आउँदैनन्, आफैंले ज्वरो नापेर आराम गर्ने हो। म रहेको वार्डमा अरू कोही छैनन्।’
बाबुरामले खाँदै गरेको औषधि घरमै छुटेको थियो। उनले श्रीमतीलाई ‘फोटो खिचेर पठाइदेऊ, यतै किन्छु’ भनेका थिए। उनले गत शनिबार (चैत १५ गते) राति साढे ८ बजे रीतासँग भिडियो कलमा थोरै खाना खाएको र औषधि दिन डाक्टर आएको बताए। उनले पत्नीलाई ‘बाबुहरूलाई खाना खुवाएर सुत, पीर नगर, म निको भएर आउँछु’ भने।
आइतबार बिहान पौने ७ बजे रीताले फोन गरिन्। फोन उठेन। प्रयास गरिरहँदा साढे ८ बजेतिर फोन उठ्यो। आवाज प्रस्ट थिएन। ‘अहः अहः भनेको सुनियो,’ रीताले कान्तिपुरसित भनिन्, ‘मेरा हातखुट्टा लुला भए।’
रीताले बुटवलमा रहेका केही साथीलाई फोन गरेर अवस्था बुझ्न लगाइन्। पति गम्भीर बिरामी भएपछि डाक्टरले जाँच गरेर अक्सिजन चढाएको जानकारी उनले पाइन्। त्यसपछि अत्तालिँदै उनी स्थानीय स्वास्थ्य चौकी पुगिन्। स्वास्थ्यचौकी प्रमुख केशवराज भण्डारीलाई श्रीमान्को अवस्था जानकारी गराइन्।
स्वास्थ्यचौकी प्रमुख भण्डारीका अनुसार रीता ‘श्रीमान्ले श्वास फेर्न सक्नुभएन’ भन्दै रोइन् र ‘यहाँ नभए एम्बुलेन्समा काठमाडौं लैजान्छु’ भनिन्। भण्डारीले नै एम्बुलेन्स खोजेर रीतालाई बुटवल पठाए। स्थानीय बासिन्दा मिलेर बुटवल जाने तयारी भइरहेका बेला आइतबार दिउँसो १ बजे बाबुरामको मृत्युको खबर पाएको उनले सुनाए।
बुटवल उपमहानगरपालिकाले तयार गरेको कोरोना अस्पतालमा बाबुरामको मृत्यु हुँदासम्म उनलाई लागेको रोग खुलाइएको थिएन। उनको स्वाब परीक्षणका लागि पठाइएको थिएन। उनमा कोभिड–१९ आंशका गरिए पनि पुष्टि भएको थिएन। स्वाब परीक्षणको रिपोर्ट सोमबार अपराह्न आयो जसमा कोभिड–१९ संक्रमण नभएको देखियो।
बाबुरामलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोभिड–१९ को आंशकामा आइसोलेसनमा पठाइएको थियो। त्यति बेला उनको उपचारमा गम्भीर ध्यान नदिएको पाइएको छ। दुबईबाट फर्किएका श्रीमान्ले ज्वरोको उपचार नपाएर ज्यान गुमाउनुपरेको रीताले दुखेसो गरिन्। ‘न्याय नपाएसम्म शव उठाउँदिनँ,’ उनले भनिन्।
रीतालाई ढाडस दिन घरका सदस्य र माइतीबाट कोही आएका छैनन्। लकडाउन छ। स्वाबको नमुना परीक्षणमा नेगेटिभ देखिए पनि त्रास छ। ‘मैले त श्रीमान् गुमाएँ,’ रीताले भनिन्, ‘अब यी छोराको पालनपोषण गर्ने आधार चाहिन्छ।’
पाल्पा रिब्दिकोटका बाबुराम पहिले बुटवलमा अस्पतालकै गाडी चलाउँथे। उनले ०६५ सालमा विवाह गरेका हुन्। थापा दम्पतीका सात र छ वर्षका दुई छोरा छन्। दुवै छोरा बाबा आउने आसमा कोठामा बसेका छन्। बाबुरामसँगै दुबईबाट आएका सालझन्डीका एक जना अहिले सैनामैनास्थित प्राकृतिक चिकित्सालयको कवारेन्टाइनमा छन्।
कोरोना विशेष अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले रीताले साना छोराको पढाइ र लालनपालनका लागि सरकारबाट राहत पाउने विश्वास राखेको बताए। ‘सरकारी अस्पताल भएकाले सरकारको निर्णय कुर्नुपर्छ,’ उनले भने, ‘छानबिन र पोस्टमार्टम गर्ने कुरामा हामी सकारात्मक छौं।’ बाबुरामको के कारणले मृत्यु भयो भन्ने पत्ता लाएर न्याय दिनु उचित रहेको गौतमले बताए।