गृहपृष्ठ Featured राजनीति र रविन्द्र मिश्र

राजनीति र रविन्द्र मिश्र

प्रकाशित मिति:

पाकिस्तानमा करिब २ दशक अघि क्रिकेट छोडेर राजनीति शुरु गरेका ‘क्रिकेटर’ इमरान खानले तत्कालीन परिवेशमा चुनावी हार पछिको प्रतिक्रियामा भनेका थिए – ‘मलाई भोट हाल्ने मतदाता जन्मँदैछन्’ । उनले प्रमाणित गरे कि ऊनी लामो दौडका घोडा थिए । करिब २ दशक जोतिएपछी पछिल्लो साल आएर उनी पाकिस्तानी प्रधानमन्त्री बन्न सके । प्रदेश र केन्द्र तहको चुनावमा तत्कालीन साझा पार्टीले हार बेहोरेपछी तत्कालिन पार्टी संयोजक रविन्द्र मिश्रले प्रतिक्रिया दिए – “भोट रक्सी मासुमा बिक्यो” । जसको सर्वत्र आलोचना भयो । हार र जीतको मनोवृत्तिबाट तत्कालै ग्रस्त भइहाल्ने नेपाली राजनीतिमा नैतिकताको राजनीति गर्ने भनेर लोभलाग्दो जागीर छोडेर होमिएका मिश्रले धैर्यता गुमाए,  देशले धक्का महसुस गर्‍यो ।

मिश्रले आफूलाई लामो दौडको घोडा बनाउन लागिपरेको तथ्य बुझ्न उनका स्तम्भ वा लेखहरू हेरे मात्रै पुग्छ । पत्रकारितासँगको उनको ३ दशक भन्दा लामो सम्बन्धलाई एकछिन अलग राखेर हेर्दा पनि स्तम्भ लेख वा कुनै अन्तर्वार्ता मार्फत उनले आफुलाई बलियो राजनीतिकर्मीको रूपमा उभ्याउन ठूलै कसरत गरिरहेका छन् जस्तो देखिन्छ । उनले कुनै पनि आलेख र मञ्चमा देशको कमजोर प्रणाली ‘नैतिकता’ मा आधारित नभएरै हो भन्ने संदेश आम नेपालीलाई दिन बिर्सेका छैनन् । रोचक र सबैभन्दा केन्द्रिय पक्ष रहेको उनको मार्गदर्शन र प्रेरणा उनले आफ्ना स्वर्गीय पितालाई मानेका छन् । जो देशका नामी चित्रकार हुने गर्थे ।

एकथरी विश्लेषकहरू भन्ने गर्छन्  –   भलै कल्याणकारी लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्त मानिएको होस्, मिश्रको राजनीति कहाँबाट र कसरी शुरु भएको छ, यो हालसम्म रहस्य कै गर्भमा छ । यसले उनि प्रति नेपाली समाज त्यति विश्वस्त नभइसकेको दृश्यलाई प्रतिविम्वित गर्छ । वैकल्पिक राजनीतिको जुन मुद्दा बोकेर मिश्र मैदानमा उत्रेका छन् – सहज आँकलनमा भन्न सकिन्छ यो यात्रा अत्यधिक जोखिमपूर्ण हुने तय छ । यसको महसुस मिश्र स्वयंले पार्टी गठनको शुरुवात देखि नै गरिरहेको हुनुपर्छ । ठीक यही बिषयलाई सत्य मान्दा मिश्र किन पनि भावी नेपाली राजनीतिका बलिया उमेदवार देखिन्छन् भनें उनले तय र प्रयास गरेको राजनैतिक समूह विभिन्न बिधामा बिज्ञ छ र यो समूह वैकल्पिक राजनीतिको मर्म र नीति अनुरुप चल्ने लगभग निश्चित  जस्तो देखिन्छ । प्रौढ देखि तरुण – युवासम्मका केन्द्रिय देखि प्रादशिक सदस्यमा कुनै न कुनै बस्तुगत विशेषता नदेखी मिश्रले ऊनीहरूलाई पक्कै अगाडि सारेका छैनन् । यसले सत्ता प्राप्ति पछिको अपेक्षित वैकल्पिक सरकारका कामकार्यवाही बारे अनुमान गर्न मिल्ने मार्ग प्रशस्त गर्नेछ ।

प्रौढ देखि तरुण – युवासम्मका केन्द्रिय देखि प्रादशिक सदस्यमा कुनै न कुनै बस्तुगत विशेषता नदेखी मिश्रले ऊनीहरूलाई पक्कै अगाडि सारेका छैनन् । यसले सत्ता प्राप्ति पछिको अपेक्षित वैकल्पिक सरकारका कामकार्यवाही बारे अनुमान गर्न मिल्ने मार्ग प्रशस्त गर्नेछ ।

खासगरी राजनीति कमाउने उद्योगको रूपमा स्थापित हुँदै गरेको नेपालको भू – राजनैतिक अवस्थामा त्यसको ठीक उल्टो दिशा निर्धारण गरेको पार्टी आफूलाई त्यो कोणमा कतिन्जेल उभ्याइरहला ? भन्ने प्रश्न निम्ति यस विचारका प्रवर्दक हुनुको नाताले मिश्र जिम्मेवार रहन्छन् ।  राजनैतिक यात्रा शुरु गरेको छोटो समय मै पार्टी विभाजनको दुर्घटना देखे भोगेका मिश्र कुनै दिन यो देशका कार्यकारी प्रमुख बन्छन् र बन्नुपर्छ भन्ने एकखाले सोच बाक्लिँदै गएको सिङ्गो समर्थक सोचमा भुइँचालो गएको हुनुपर्छ भनें उनको पार्टीले पनि पक्कै राजनीतिको थप नयाँ ‘कोर्स’ सिकेको हुनुपर्छ ।  यसले राजनीतिको यो पक्षलाई समेत प्रकाश पार्छ कि केवल सत्ता मात्रैमा केन्द्रित विवेचना,  आलोचना तथा समालोचना मात्रैले अबको यात्रालाई इन्धन पुग्ने छैन । देशको भुराजनैतिक अवस्था,  त्यसमा आस्थावान फरकफरक सोच र बिचारलाई पनि पार्टी र मिश्र स्वयंले सम्बोधन गर्नुपर्ने दायित्वबोध यति बेला भएको हुनसक्छ ।

दिनानुदिन भ्रष्ट र पतीत भइरहेको वर्तमान राज्यसत्ताको बिरोध गर्नु बाहेक खासगरी उनका कुनै मुद्दामा देश आकर्षित भइरहेको छैन । निर्मला हत्याकाण्ड र गोविन्द के सि अनशन प्रकरणमा आन्दोलनको एउटा सीमामा पुगेपछी एकाएक चुपचाप देखिनुले उनको अनाडीपनलाई देखाएको जस्तो पनि देखिन थालेको छ । तर अवस्था के सिर्जना भएको छ भनें सत्तापक्ष र प्रतिपक्ष नै भ्रष्टाचारको दलदलमा नराम्रोसँग आहाल खेलिरहेको बेला सडक, संचार र संजालबाट शान्तिपूर्ण खबरदारी गर्ने शक्तिको रूपमा मिश्र र उनको पार्टी उभिएको तथ्यलाई स्विकार्नु बुद्धिमानी होला । यसले देशको विद्यमान शासन व्यवस्था समस्याग्रस्त छ र यसको पूर्ण संशोधन वा फेरबदल नै आवश्यक छ भन्ने मुद्दा नेपाली समाजमा छोड्न सक्ने संभावनालाई थप बल पुर्‍याइरहेको छ ।

शान्तिपूर्ण बाहेकका खबरदारी वा हतियार सम्पन्न सत्ता बिद्रोहको लागि विप्लव नेतृत्वको नेकपा समेत रहेको अवस्था छ । यसले देशको वर्तमान परिस्थितिको गाम्भिर्यतालाई एकैकोणबाट चित्रण गर्छ । संसदमा आसिन वा बाहिरका कुनै पनि शक्तिलाई सोच्न बाध्य बनाइदिएको छ देशमा साँच्चिकै व्यवस्था परिवर्तनको अर्को लडाइँ बाँकी नै छ । मिश्रको लागि यो थप बल हुनसक्छ ।
कृश्चियन मिसनरीको लागि काम गरेको,  हेल्प नेपालको कोषबाट कैयौं रुपैयाँ भ्रष्टाचार वा अनियमितता गरेको आरोप मिश्र माथि पटकपटक लाग्ने गरेको छ । बिबिसीको आकर्षक तलब छोडेर आउनुमा शंका गर्ने कैयौं ठाउँहरू छन् । उनका घरहरू र छोराछोरीको शिक्षादीक्षाको मुद्दामा उनको चर्को आलोचना हुँदै आएको छ । यसै क्रममा उनले २ बर्ष अघि आमाको मुख हेर्ने दिन एक अनलाइनमा लेखेको लेखमा उनके भनेका थिए – ‘हेल्प नेपाल लगायतका कुनै पनि संस्थाको रकम आजसम्म हिनामिना,  अनियमितता वा भ्रष्टाचार गरेको भए मलाई मेरी आमाको रगत पिए बराबरको पाप लागोस् ।” उनलाई लाग्ने गरेको अर्को आरोप हो मिश्र बिबिसिमा कार्यरत रहँदा ऊनले चलाएको भनिएको रेडियो बहस कार्यक्रम ‘नेपाल अब किन स्वतन्त्र देश रहिरहने ?’ तर आरोप लगाउनेहरूले आजसम्म यसको प्रमाण पेश गर्न सकेका छैनन् । तथापि यसले मिश्रलाई अफ्ठ्यारोमा जरुर पार्ने छ ।

उसो त उनले धेरैवटा मञ्चबाट यसबारे स्पष्टिकरण दिईसकेका छन् तर उक्त आलेख र स्पष्टिकरणबाट समेत कतिपयले उनलाई विश्वास गरेतापनी आजसम्मको अवस्थामा अझै धेरै ठूलो हिस्साले उनलाई विश्वास गरिसकेको छैन वा अझै अन्य परीक्षा लिन खोजिरहेको छ जस्तो देखिन्छ । मिश्र, राजनीति र नैतिकताका लागि पनि यि यस्ता बिषय हुन्, जसमा पटकपटक र कैयन पटक बोल्न बोलिरहन आवश्यक र अत्यावश्यक छ हुन्छ र हुनेछ । घटना सही प्रमाणित नहुँदासम्म समयले त्यसबिषयमा स्पष्टिकरण मागिरहन्छ र नैतिकताको परिभाषा यही हो कि त्यसप्रति जिम्मेवार इमानदार र जवाफदेही बन्नुपर्छ, बनिरहनुपर्छ – मिश्रले यस तथ्यलाई आत्मसाथ गर्नुको विकल्प छैन । राजनीतिमा र खासगरी वैकल्पिक राजनीतिको लागि नैतिकता अत्यन्तै ठूलो प्रतिष्ठाको बिषय हुनसक्छ । त्यसकारण मिश्रले उक्त मुद्दामा एकपटक बोलेर मात्रै पुग्दैन । हाल संस्थामा आबद्ध नरहेपनी हेल्प नेपालको सम्पुर्ण विवरण बाहिर ल्याउने हिम्मत अझैसम्म उनले गरेका छैनन् । त्यसो नगरिनु उनका लागि दुर्भाग्यपूर्ण सावित हुनसक्छ । रातो बंगला हाइस्कुललाई वितरण गरिएको भनिएको रकम बारे अझै पनि ठूलो जमात उनी प्रती प्रष्ट हुन सकेको छैन, जुन समूहको समर्थन उनको लागि राम बाण सावित हुनसक्छ । त्यसैकारण पनि त्यस मुद्दामा एकपटक बोलेर ‘च्यापटर क्लज’ गर्न यदि मिश्र खोजिरहेका छन् भनें उनी ऐतिहासिक गल्ती गर्दैछन् । र यसले पानी कम भएकै ठाउँमा उनको वैकल्पिक राजनीतिको डुङ्गा डुबाइदिनेछ । पार्टी फुटको नजीर यसको सानो उदाहरण थियो भनेर बुझ्न अब ढिलो नगर्नु नै उनको लागि फाइदाजनक हुनेछ ।


लामो ऐतिहासिकता बोकेका सत्तासीन र प्रतिपक्ष अगाडि मिश्रको पार्टी र अनुभव अपर्याप्त जस्तो लाग्नसक्छ । तर ऐतिहासिक बिरासत र क्रान्तिको जगबाट स्थापित शक्तिहरू दशकौं देखि पुस्तौं अघिसम्मको ब्याज खाएर बस्न पाउनुपर्ने कुरा न्यायसंगत हुनैसक्दैन । जनताका प्रतिनिधि दिनदिनै अनैतिक कार्यमा रुमलिइरहँदा खबरदारी गर्ने जो कोहीले सरकार र प्रतिपक्षीको टोकासो सहनुपर्ने बाध्यता लोकतन्त्रको कुनै पनि मान्यतामा पर्दैन । तर यसका लागि रवीन्द्र र उनको टिमले गर्नुपर्ने धेरै काम सतहमा छन्, जसले त्यस समुहको वैकल्पिक भनिएको राजनैतिक यात्रालाई नयाँ जीवन सहितको गति दिनसक्छ । जसमध्ये केहीलाई संक्षेपमा यसरी बुझ्न सकिन्छ –

भ्रष्टाचार शुन्य शहनशिलता – 
उसो त भ्रष्टाचारका संबन्धमा सबैजसो दल र मिश्रको दल समेतले आआफ्नो धारणा बाहिर ल्याइसकेकै अवस्था छ, तथापि दलमा आवद्ध सबै सदस्य र तिनका विगतका क्रियाकलापलाई सकेसम्म अधिक जानकारी बाहिर ल्याउनु त्यस समुहसँग आवद्ध सबैको लागि फाइदामुलक रहन्छ ।

मानवअधिकार – 
डा. केसी र निर्मला प्रकरणमा साझा पार्टी एकाएक मौन भयो भन्ने आरोप बाक्लै सुन्न पढ्न पाइन्छ । गुठी बिधेयक एनसेल प्रकरण र अन्य धेरै मुद्धामा साझाको धारणा कतिपय ठाउँमा त आउँदै आएन, आएका ठाउँमा पनि अत्यन्तै कमजोर स्थितिमा आइपुग्यो । रोचक कुरो के भनें अन्य दलले त ती शीर्षकमा बोल्ने सम्म आँट गरेनन्, कमसेकम मुखसम्म खोलेको अवस्थाको लागि साझा पार्टीलाई धन्यवाद भन्नुपर्छ ।

राजनीतिक हत्या र हत्याकाण्ड बारेमा आधिकारिक धारणा – 
दक्षिण छिमेकमा सन् १९५४ मा जम्मु काश्मीरमा लागु भएको एउटा धारा हटाउने घोषणा हालको ‘रुलिङ’ पार्टिले सन् ७० कै दशकमा गरेको थियो, ५ दशक पछि आएर उक्त मुद्धामा त्यस दलले सफलता पाएको छ । सिक्नुपर्ने कुरा के छ भनें – सत्ता प्राप्ति पछिको सुव्यवस्था, सुशासन सर्वोपरि बनाउनका निमित्त मूलभूत कुरामा शुरुमै धारणा बनाएर अघी बढ्न जरुरी छ । जस्तो हाल साझाले भन्दै आएको “कर्मचारी संगठन विघठन” जस्तै अन्य र खासगरी राजनैतिक हत्याकाण्डका बारेमा धारणा तय हुन आवश्यक छ ।
०२८ को तत्कालिन राजा महेन्द्रको हत्या (?), ०५० को दासढुङ्गा हत्याकाण्ड (?), ०५८ को दरवार हत्याकाण्ड (?) बारे उदयमान शक्ति हुनुको नाताले साझा पार्टीले अहिले नै सबै घटनाको छानविन गर्ने – गराउने प्रतिबद्धता लिएर जनतामा जान जरूरी छ । स्पष्ट छ – भण्डारी पत्नी राष्टपति र उनैको दल दुईतिहाई मत सहितको बलियो सरकारमा भएको बेला दासढुङ्गा हत्याकाण्डबारे पार्टीको नीति, कार्यक्रम र घोषणापत्र मै यसलाई महत्वपुर्ण हिसाबले उठान गर्दा त्यसका पक्षपाती नेताकार्यकर्ताको समर्थन बटुल्न सहज हुनेछ भनें न्याय नपाएका अन्य हज्जारौं लाखौं आमजनता त्यसको पक्षमा उत्रन सक्छन् ।

एक पार्टी – बहु नीति 
सन् १९९७ र १९९९ मा उत्तर छिमेकीले आफ्ना दुई प्रान्त क्रमश: हङकङ र मकाउ फिर्ता लिएपछि तिनका निम्ति एउटा नीति लियो – ‘एक देश – दुई नीति’ । जसमा फरक मुद्रा, झण्डा र संविधान जस्ता अधिकार समेटिएका थिए । जसकारण आजसम्म कमसेकम ती दुई प्रान्त उक्त देशको नक्शाको हिस्सा बनिरहेको अवस्था छ । भलै केही आन्तरिक समस्या त्यस भित्र देखा परेका हुनसक्छन् तर उनिहरू त्यसलाई समाधान गर्न सक्षम हुनेछन् भनेर अनुमान गर्न सकिने ठाउँहरू पनि प्रसस्तै छन् । यहाँ यस प्रसंगको उठान किन भयो ? भन्ने लाग्न सक्छ । यस घटनाको दृष्टान्तबाट मिश्रको पार्टीले धेरै ठूलो पाठ सिक्न सक्छ र त्यो के भनें – नेपालको सन्दर्भमा कुनै पनि दलले चुनाव जित्न वा सत्तासम्म पुग्न प्रयोग गरेको बाटो भनेको लामो समयसम्मको राजनैतीक अस्थिरता र अध्यावधिक हुन नसकेको निर्वाचन र त्यसकार्यको लागि प्रयोग हुन नसकेको युवा पुस्ता नै हो । यसलाई सजिलो गरेर यसरी बुझ्न सकिन्छ कि ०५६ पछि हुन नसकेको आम निर्वाचनको फाइदा ०६४ को पहिलो संविधानसभामा जसरी तत्कालिन माओवादी र मधेसी जनाधिकार फोरमले उठाउन सके त्यसरी नै अबको कुनै निर्वाचनमा कुनै दलले त्यो ढंगले चुनाव जित्ने संभावना लगभग छैन र रहँदैन पनि । त्यसकारण तत्कालिन पाकिस्तानी नेता (हालका प्रधानमन्त्री) इमरान खानले भनेजस्तै – हालै उत्पन्न भएका दललाई भोट हाल्ने पीढी जन्मेकै छैनन् भनेर बुझ्दा अत्युक्ति नहोला । र माथिको दृष्टान्तको शिक्षा यसैका लागि आवश्यक चुनावी विधी हुनसक्छ – एक पार्टी – बहु नीति । यो भनेको के हो भनेर अझै प्रष्ट हुनुपर्दा – जुनसुकै दल समुह वा गतिविधि (कानुनले रोक नलगाएका) मा आवद्ध व्यक्ति समेत आआफ्नै आस्था र बिचार सहित पार्टीमा योगदान दिनसक्ने खुल्ला राजनैतिक आचरण सहितको अभ्यासमा जाने हो भनें मिश्र र उनको साझा पार्टी छिट्टै राष्ट्रिय राजनीतिको खम्बा बन्नलाई धेरै समय कुर्नुपर्छ जस्तो लाग्दैन । जसरी चीनले साम्यवादी मार्गचित्रमा पुँजिवादी अर्थव्यवस्थाको फ्युजनबाट देशलाई छोटै समयमा निक्कै अगाडि पुर्यायो, त्यो विधिको मौलिक प्रयोग नेपालमा र खासगरी मिश्रको पार्टीमा हुनसक्छ ।

रेशम अधिकारी
लेखक संग सामाजिक सन्जालमा जोडीन यहाँ थिच्नुहोस्
पोखरा २१
हाल – अजमान, यु. ए. ई.
wriral45@gmail.com
Rayadd45@gmail.com

सम्बन्धित् समाचार