गृहपृष्ठ बिचार हरेक साँझ मृत्यु बोकेर आउने समाचारले मुटु कँपाउँथ्यो

हरेक साँझ मृत्यु बोकेर आउने समाचारले मुटु कँपाउँथ्यो

हरेक साँझ इटालीबाट मृत्यु बोकेर आउने समाचारले मुटु कँपाउँथ्यो ।अझ वृद्धवृद्धाहरूलाई त उपचार नै नगर्ने भन्ने अफवाह पनि फैलियो ।धेरैले यो कोरोनाभाइरस आफैमा अफवाहमात्रै भएको तर्क पनि गरे ।तर केही हप्तामैं यो महामारी छोइने गरी बेलायत आइपुग्यो अनि आज आएर स्पेन र इटालीभन्दा मृत्यु दर उच्च देखियो ।सुरुमा लाग्थ्यो, वृद्धवृद्धामात्रै या पहिले नै धेरै रोगले गालेकाहरूको मात्रै मृत्यु भएको छ र यसको दोष कोरोनाभाइरसलाई दिइएको छ । तर, आँखाले नदेखुन्जेल सत्य थाहा नहुने रहेछ ।

बेलायतमा मात्रै ५० जना नेपालीको कोभिड़-१९ का कारण मृत्यु भइसक्यो । अझै धेरै नेपाली भेन्टिलेटरमैं हुनुहुन्छ । निको हुनेहरूको भोगाइ पनि निकै कष्टप्रद रह्यो ।न यति धेरै सङ्ख्यामा नेपालीको मृत्यु यसअघि सुनिएको थियो न मृत्यु हुने सबै रोगी र वृद्ध थिए ।
युरोपमा उपचार नै नपाएर मृत्यु हुने घटना शायद अपवाद मात्रै हुन्छन् । यहाँ पनि त्यस्तो भयो भन्ने लाग्दैन । भिजिट भिसामा आउनेदेखि कुनै कागजपत्र नभएकाहरूलाई पनि आकस्मिक उपचार आम नागरिकसरह निःशुल्क नै छ । अझ महामारीको बेला कागजपत्र खोज्ने काम त अमानवीय नै हुने भयो । कामदारलाई आर्थिक भार नपरोस् भन्नेदेखि व्यवसाय र रोजगारी नडुबोस् भन्नेतिर सरकार सुरुदेखि नै सक्रिय देखियो । कामदारको ८०% तलब सरकारले बेहोर्ने देखि एक वर्षसम्म व्यावसायिक कर छुट दिने निर्णय सुरुमैं भयो । ऋणको किस्ता तीन महिनाका लागि नतिरे पनि हुने भयो । अरबौं पिपिईको सप्लाई गरिएको भए पनि स्वास्थ्यकर्मीहरूले पिपिई अभाव भएको समाचार भने नियमित आइरह्यो ।

लकडाउन गरिए पनि सार्वजनिक यातायातदेखि सरकारी कार्यालयहरूले निरन्तर सेवा दिइरहे । ब्याङ्कदेखि खाद्यान्न पसलहरू सबै खुला रहे । कसरत गर्न या खाद्यसामग्री किनमेल गर्न घरबाहिर निस्किन पाइने हुनाले चालीस दिनसम्म पनि मान्छेलाई थुनिएको अनुभव भने हुन पाएन । तर, भाषाका कारण काउन्सिलदेखि स्वयंसेवी संस्थाहरूबाट प्राप्त हुने सहयोग र सुविधा लिन नसकेर धेरै नेपाली पूर्वगोर्खाहरूले दुःख पाएको भन्ने खबर आयो । खासगरी उमेरका कारण किनमेल गर्न अप्ठेरो परेको देखियो । केही नेपाली विद्यार्थीहरू पनि आर्थिक समस्यामा परेको देखियो । दूतावासदेखि सामाजिक सङ्घसंस्था सहयोगका लागि अघि आए । बेलायतमा स्वास्थ्य र सहयोगी जनशक्ति कम भएपछि स्वयंसेवकको माग गरिएको थियो । पाँच लाखभन्दा बढ़ीले स्वयंसेवाका लागि नाम लेखाए । रिटायर्ड भएका स्वास्थ्यकर्मी उमेरको जोखिम हुँदाहुँदै पनि काममा फर्किए । हस्पिटलमा दिनहुँ निःशुल्क खानादेखि सरसफाइका सामग्री डोनेशन आइरहेका छन् । स्वास्थ्यकर्मीलाई उबरले निःशुल्क ट्याक्सी सरभिस दिएको छ । घर जान जोखिम मान्नेहरूलाई होटलहरूमा निःशुल्क कोठा उपलब्ध छ । अब बेलायतमा सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा छ । कोरोनाभाइरसका लागि भनेर बनाइएका टेम्पोरारी हस्पिटलहरू अहिले स्ट्यान्ड़बाईमा छन् ।

स्थायी हस्पिटल नै सुरक्षित र सुविधायुक्त हुने भएकाले तिनमा ठाउँ हुँदासम्म नयाँ हस्पिटलमा बिरामी नलगिने रहेछ । अब लकडाउन खुल्दा शायद धेरैमा यो सङ्क्रमण भइसकेर निको भएकाले स्वतः ‘चेनब्रेक’ हुने र सङ्क्रमणको दोस्रो लहर अहिलेजस्तो सघन नहुने विश्वास छ । ह्वात्त सङ्क्रमण नबढ्ने हो भने हस्पिटल या स्वास्थ्य पूर्वाधारले सजिलै व्यवस्थापन गर्न सक्ने रहेछन् भन्ने देखियो । धनी देशको परनिर्भरता र आवागमन गरिब देशभन्दा धेरै बढ़ी हुन्छ । झन्डै हाम्रो जनसङ्ख्या जति पर्यटक त एक वर्षमा पेरिस या लण्डन घुम्न आउँछन् । नेपालको राष्ट्रिय बजेटभन्दा दुईगुना बढ़ी त दुबईमा मात्रै पर्यटकले खर्च गर्दा रहेछन् । लण्डनको भूमिगत ट्रेनमा मात्रै दिनहुँ पचास लाख मान्छे आवतजावत गर्छन् । व्यस्त समयमा उभिनेसम्म ठाउँ हुँदैन । यी ट्रेनमा पर्यटकको सङ्ख्या ठूलो हुन्छ । एअरपोर्टदेखि सिनेमाहल, जिमखानादेखि सोसल क्लबहरूसम्म हुने भिड़भाड़ले गर्दा यस्ता देशमा सङ्क्रमण भूसको आगोजस्तो फैलिने रहेछ । लकडाउनकै दिनमा पनि हुलाकी र डेलिभरी ड्राइभर दिनहुँ ढोकामा आइरहेकै हुन्छन् । नर्सिंग होम या केयर होम भनिने वृद्धाश्रम विकसित देशमा सामान्य मानिन्छ । केही दर्जनदेखि सयौं वृद्धवृद्धालाई हेरचाह गर्ने त्यस्ता होममा एउटामात्र सङ्क्रमण हुँदा पनि क्लस्टर बनेर फैलिने डर हुने रहेछ । यसले बेलायत र इटालीमा मृत्यु दर बढाउन ठूलो भूमिका खेल्यो ।

विश्वभर ठूलो मानवीय र आर्थिक क्षति भएको छ । तर अलिकति क्षतिपूर्ति स्वरूप वातावरण भने धेरै हदसम्म सफा र स्वच्छ भएको छ । हावामा धुलोधुवाँ र हानिकारक केमिकलको मात्रा घटेकाले अन्य स्वासप्रश्वास रोगका विरामी घटेका छन् र धेरै मृत्यु रोकिएको छ । विश्वभर मौसममा उल्लेख्य परिवर्तन अनुभव भएको छ । सधैँ बादलले ढाकिने आकाश अहिले घमाइलो छ । यसअघि सुख्खा लाग्ने ठाउँमा वर्षा भइरहेछ र गर्मीले पगाल्ने ठाउँमा भर्खर मान्छे शिरकबाहिर आउँदै छन् । स्याटेलाइट तस्बीरहरूले आकाशलाई स्वच्छ र सुन्दर देखाएका छन् । यसले पक्कै मान्छेमा रोगप्रतिरोधक क्षमता वृद्धि गर्नेछ र अन्य स्वास्थ्य समस्यालाई कम गर्नेछ । उसो त मान्छेमात्र धर्तीको एक्लो प्राणी होइन, धर्ती करोडौं अन्य प्राणीको पनि साझा हो । तीमध्ये अधिकांशका लागि धर्ती अहिले स्वर्ग बनेको छ ।
आशा गरौँ, एक दिन वैज्ञानिकहरूले यो महामारीको जबाफ पक्कै हासिल गर्नेछन् र हाम्रो जनजीवन पनि सामान्य बन्दै जानेछ ।

सम्बन्धित् समाचार