गृहपृष्ठ खबर भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति, नेपाली भूभागमा कुनै गतिविधि नगर्न आग्रह

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति, नेपाली भूभागमा कुनै गतिविधि नगर्न आग्रह

प्रकाशित मिति:

काठमाडौँ । भारतले नेपालको भूमि मिचेर सडक निकालेको प्रति नेपालले आपत्ति जनाएकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुला लिपपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति नेपालले खेद व्यक्त गरेको हो ।मन्त्रालयले विज्ञप्ति निकालेर ‘भारतले नेपाली भूभाग हुँदै नेपालको लिपुलेक जोड्ने सडक उद्घाटन गरेको’ मा खेद व्यक्त गरेको हो ।

विज्ञप्तिमा नेपाल सरकारले सुगौली सन्धीअनुसार काली नदीदेखि पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको सबै भाग नेपालको हो भन्नेमा निरन्तर अडान राख्दै आएको उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा ‘नेपालले धेरै पहिलेदेखि यो अडान राख्दै आएको छ । केही अघि भारतले राजनीतिक नक्शा जारी गरेपछिको अवस्थामा २० नोभेम्वर २०१९ मा पठाएको डिप्लोम्याटिक नोटमा त्यसलाई दोहोर्याएको छ,’ भनिएको छ ।

यस्तै, विज्ञप्तीमा ईपीजी प्रतिवेदनमा समेत भूमिका सन्दर्भमा समस्या समाधान गर्ने र त्यसका आयामकाबारेमा उल्लेख गरिएको थियो ।

तर, भारतले हालसम्म प्रतिवेदन स्वीकार नगरेको स्मरण गराउँदै तत्काल दुवै पक्षले ईपीजीको प्रतिवेदन तत्काल बुझ्नुपर्ने अवस्था आएको समेत विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै, दुई देशबीचको सीमाका बारेमा प्रधानमन्त्रीस्तरमा भएको ‘सीमा विवाद छलफलद्वारा टुंगो लगाउने’ समझदारीको पनि उल्लंघन हुने नेपालले ठहर गरेको छ ।नेपाल सरकार ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शामा आधारित भएर कूटनीतिक रूपमा सीमा विवादको समाधान खोज्न प्रतिवद्ध रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विकसित अवस्थामा नेपाल सरकार भारत सरकारलाई नेपाली भूभागभित्र कुनै पनि गतिविध नगर्न आग्रह गर्छ ।’

सम्बन्धित् समाचार