कोरोनाँको लक्षणसगँ मिल्दो लक्षण देखिएर होम क्वारेन्टाईनमा रहदै आएकी साढे तीन महिनाको गर्भ रहेकी एक महिलाको सप्तरीमा मृत्यु भएको छ ।
अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप– ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई होम क्वारेन्टाइनमा राखिएको थियो । अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए । ती महिलालाई एक साता भन्दा लामो समयदेखि ज्वरो निरन्तर आईरहेको थियो ।
गर्भवती महिलालाई १ सय २ डिग्री ज्वरो आएपछि परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए । डा। विनिता यादवको क्लिनिकमा उपचार गराएकी उनलाई पाँच दिनपछि पुन परीक्षणका लागि बोलाइएको थियो ।
चिकित्सकले पिसाबको संक्रमणको औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोले बताए ।
महतोले मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । शव व्यवस्थापन निर्देशिका अनुसार दाह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रिपोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।
उता प्युठानमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार निधन भएको हो । माइतीघर बिजुलीमा आएको बेला उनलाई क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।
उनी एक साताअघि भारतबाट घर आएकी थिइन् । भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमानसहित पाँचजनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।