गृहपृष्ठ अन्तरास्ट्रिय खबर विदेशबाट ल्याइने नेपाली कामदारको यसरी हुँदैछ व्यवस्थापन

विदेशबाट ल्याइने नेपाली कामदारको यसरी हुँदैछ व्यवस्थापन

कोरोनाभाइरस (कोडिभ–१९)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको जेठ १६ गते बसेको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन कार्य योजना बनाएको छ । जसअन्र्तगत जेठ २६ गतेबाट कामदार ल्याउने तयारी सरकारले गरेको छ ।

लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, पहिले नै टिकट काटेर पनि फर्कन नपाएका नागरिकहरुलाई ल्याउनका लागि तयारी सुरु भएको हो । पहिलो चरणमा समस्यामा परेका करिब २५ हजार नेपाली नागरिकहरुलाई ल्याउने तयारी भएको छ ।

तथ्यांक संकलन जारी, पहिलो चरणमा २५ हजारलाई स्वदेश ल्याइने
अहिले सरकारले विभिन्न देशमा समस्यामा परेका नागरिकहरुको तथ्यांक संकलनको काम गरिरहेको छ । प्राथमिकताका आधारमा ती नागरिकहरुलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

जेठ १६ गते बसेको समितिको बैठकले परराष्ट्र मन्त्रालयलाई १० दिनको समय दिएर लगत संकलन गर्न भनेको छ । यद्यपि त्यो भन्दा पहिले नै कतिपय दूतावासहरुले समस्यामा परेका र नेपाल फर्कन चाहेका कामदारहरुको तथ्यांक संकलन गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा खाडी मुलुक तथा मलेसियामा रहेका करिब २५ हजार नागरिकलाई स्वदेश फिर्ता ल्याउन लागिएको छ ।

त्यसपछि पनि क्रमशः विदेशी भूमिमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१४ दिन स्थानीय तह तथा ७ दिन होम क्वारेन्टिन अनिवार्य
सरकारले विदेशबाट ल्याउने कामदारहरुलाई कम्तीमा १४ दिन स्थानीय तहको क्वारेन्टिन तथा थप ७ दिन होम क्वारेन्टिनमा अनिवार्यरुपमा बस्नुपर्ने कार्यविधि बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट ल्याइने कामदारलाई सुरुको १४ दिन स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिन वा होटल क्वारेन्टिनमा राखिनेछ । त्यहाँ कोरोना संक्रमण नदेखिएको खण्डमा मात्रै उनीहरुलाई आफ्नो घरमा जान दिइनेछ । तर घरमा गएपछि उनी ती व्यक्ति र उनको परिवार अर्को एक साता घरबाट बाहिर निस्कन पाउने छैनन् । उनीहरु सबैलाई निगरानी र नियमन गरिने छ ।

कामदार विदेशबाट नेपाल फर्केपछि सुरुमा नेपाली सेनाले बनाएको होल्डिङ सेन्टरमा केही समय रहनेछन् । त्यसपछि प्रदेश वा स्थानीय तह अनुसार कुन स्थानीय तह वा जिल्ला हो, सोही स्थानमा पुराउने काम प्रदेश सरकार, नेपाली सेना, गृह मन्त्रालय र स्थानीय तहको समन्वयमा हुनेछ । त्यसपछि उनीहरु स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिनमा बस्ने कि होटल क्वारेन्टिनमा बस्ने कहाँ हो, त्यहीँ जानेछन् ।

कम्तीमा २ पटक कोरोना परीक्षण हुने
कोरोना  रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्ययोजनाको बुँदा नम्बर २४ मा क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्ने कुरा उल्लेख गरिएको छ । यद्यपि स्वास्थ्य परीक्षण कुन विधिबाट गर्ने र कतिपटक गर्ने भन्ने कुरा उल्लेख गरिएको छैन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भने विदेशबाट फर्किएकाहरुको कम्तीमा २ पटक पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिनेछ । पहिलो चरणमा आएको एक साताभित्र र दोस्रो त्यसको एक सातापछि गरिनेछ । दुबै परीक्षणमा नतिजा नेगेटिभ आएको खण्डमा मात्रै उनीहरुलाई क्वारेन्टिनबाट बाहिर निस्कने अनुमति दिइनेछ ।

यदि परीक्षणका क्रममा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिएको खण्डमा अन्य व्यक्तिहरुको क्वारेन्टिनको समय पनि बढ्न सक्नेछ ।

हवाइभाडा, यातायात खर्च र होटल क्वारेन्टिनको खर्च व्यक्ति स्वयंकै
अहिले सरकारले भारतलगायत तेस्रो मुलुकमा समस्यामा परेका नागरिकहरुलाई स्वदेश फर्काउने सम्बन्धमा तयार पारेको कार्यविधि र कार्ययोजना अनुसार विदेशबाट स्वदेश फर्कने यात्रुले हवाई भाडा, यातायात खर्च र होटल क्वारेन्टिनको खर्च आफै बेहोर्नु पर्नेछ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २७ औं बैठकबाट पास भएको कार्ययोजना र कार्याविधि अनुसार विदशेबाट नेपाल आउँदाको हवाइभाडा, काठमाडौंबाट स्थानीय तह वा जिल्लासम्म लाग्ने यातायात खर्च र जिल्लास्थित होटल क्वारेन्टिनमा बस्ने भए त्यहाँ बस्दा लाग्ने खर्च पनि व्यक्ति स्वयंले तिर्नुपर्नेछ । तर यदि स्थानीय तह अर्थात् सरकारले बनाएको क्वारेन्टिनमा बस्ने हो भने बास र खाना खर्च सरकारले नै बेहोर्नेछ । यद्यपि जुन क्वारेन्टिनमा बसेपनि काठमाडौंदेखि जिल्ला वा स्थानीय तहसम्म जाने यातायात खर्च र नेपालसम्म आउँदा लाग्ने हवाई शुल्क भने व्यक्ति स्वयंले तिर्नुपर्नेछ ।

हवाई भाडा दुईतर्फी नै लाग्न सक्ने
अहिले धेरैको चासोको विषय हवाई भाडा कति लाग्छ भन्ने रहेको छ । यद्यपि सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । सम्भवतः मंगलबार साँझसम्ममा विदशेमा रहेका नेपाली नागरिकहरुलाई फिर्ता ल्याउनेसम्बन्धी कार्यविधि आउनेछ । त्यहाँ यसबारेमा केही सम्बोधन हुन सक्ने भएपनि प्रारम्भिक सूचनालाई हेर्ने हो भने यात्रुले दुईतर्फी नै भाडा तिर्नुपर्नेछ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार विदशेबाट कामदार ल्याउने उडान नियमित उडान नभएकाले चार्टर उडानवापत लाग्ने शुल्कलाई भाग लगाएर नै यात्रुहरुले रकम बुझाउनु पर्नेछ ।
अहिले नेपाल एअरलाइन्सको भाडादर प्रतिघण्टा १८ हजार १ सय डलर रहेको छ । यही भाडादरलाई आधार मानेर कुन देश जाने, त्यहाँ पुग्न कति समय लाग्ने र कति यात्रु बोकेर फर्कने भन्ने विषयले नै यात्रुको भाडा कति पुग्छ भन्ने निर्धारण हुनेछ ।

उदाहरणका लागि मलेसियाको उडान ४ घण्टा ३० मिनेटको छ भने नेपालबाट खाली उड्नुपरेको अवस्थामा ९ घण्टाको भाडा तिर्नुपर्नेछ । ९ घण्टाको १८ हजार १ सय डलरका दरले हिसाब गर्दा १ लाख ६२ हजार ९ सय अमेरिकी डलर पर्न पाउँछ ।

अहिले १ अमेरिकी डलर बराबर १ सय २२ रुपैयाँ जति पर्न पाउँछ । यसरी हेर्दा एउटा चार्टर फ्लाइटवापत १ करोड ९८ लाख ७३ हजार ८ सय रुपैयाँ पर्न आउँछ । अब निगमको वाइडबढी विमानमा २ सय ७४ सिट क्षमताको छ ।
तर मलेसियामा पुगेर पनि केही समय रोकिनुपर्ने हुनसक्ने भएकाले त्यहाँ थप पाइलट तथा कोपाइलटको आवश्यकता पर्न सक्छ । यस्तो अवस्थामा करिब ४ सिट क्रु मेम्बरका लागि राखिन्छ । यसरी हेर्दा २ सय ७० सिट बेचियो भने प्रतिव्यक्ति ७३ हजार ६ सय ६ रुपैयाँ पर्न आउँछ । यसको अर्थ फुल अकुपेन्सी (सिट भरिने गरी) यात्रु भएको अवस्थामा पनि प्रति यात्रु ७३ हजार रुपैयाँ पर्न सक्ने देखिन्छ ।

तर नेपाल एअरलाइन्स सरकारी स्वामित्वको एअरलाइन्स भएको र उसले लागत खर्च मात्रै लिएको अवस्थामा भने शुल्कमा केही कमी आउन सक्नेछ । तर अहिले नै कति शुल्क लाग्ने भन्ने निश्चित भइसकेको छैन ।

रोजगारदाताले नबेहोरेको खण्डमा व्यक्ति स्वयम्को जिम्मा
विदेशबाट स्वदेश फर्काउने नेपाली नागरिकहरुको हवाई टिकट सम्भव भएसम्म रोजगारदाता कम्पनीबाटै भराउन लागिएको छ । त्यसको लागि विदेशस्थित नियोग (दूतावास)ले रोजगारदाता कम्पनीसँग पनि समन्वय गरिरहेको छ । तर रोजगारी सकिइसकेको कामदारको हकमा वा विदेशमा अवैधरुपमा बसेका, आममाफी वा माफी पाएर जेलबाट रिहाई भएकाहरुको हकमा के गर्ने भन्ने अझै टुंगिएको छैन । आफैले टिकट काटेर आउन नसक्ने नागरिकका लागि वैदेशकि रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्ने वा नगर्ने भन्ने निश्चित भइसकेको छैन । यद्यपि त्यसबारे पनि छलफल भने भइरहेकै छ ।

एक व्यक्तिको बन्दोबस्ती र खाना खर्च दैनिक १ सय ७५ रुपैयाँ मात्रै
समितिले एक व्यक्तिको बन्दोबस्ती तथा खाना खर्च गरी प्रतिदिन १ सय ७५ रुपैयाँले हुन आउने मात्रै भुक्तानी गर्ने बताएको छ । कार्ययोजनामा उल्लेख भएको अनुसार एक दिनको खाना, खाने पकाउने तथा खाने भाँडा र तन्ना, वेड, म्याट्रेस रुमाल, साबुन आदि सबै सामान समेटिएको छ ।
यसरी हेर्दा एक व्यक्तिका लागि दैनिक १ सय ७५ रुपैयाँ भने पनि खानाका लागि खर्च भने करिब ५० देखि ६० रुपैयाँ मात्रै हुने आउने प्रहरीको रासन चलाइरहेका एक ठेकेदार बताउँछन् । पहिलो चरणमा आउनेलाई धान्न नै गाह्रो हुने तर दोस्रो चरणबाट भने खर्च धान्न सकिने उनको भनाइ छ ।

दाल, भात र सस्तो तरकारी खुवाउन सकिने
ती ठेकेदारका अनुसार अहिले तरकारीको मूल्य सस्तो भएको कारण सरकारले छुट्याएको रकमले दाल, भात र सामान्इ तरकारी खुवाउन सकिने छ । यद्यपि सङ्ख्या थोरै भएको अवस्थामा भने त्यो खर्चले धान्न सक्ने छैन । यो खर्चले धान्नका निमित्त कम्तमिा पनि ५० जनाभन्दा बढी मानिस हुनुपर्ने उनी बताउँछन् । तर स्थानीय तहकै क्वारेन्टाइनमा पठाउने भएको कारण प्रहरी वा सेनाको रासनजस्तै गरी सस्तो मूल्यमा खाना खुवाउन सकिने छैन । किनभने एक स्थानीय तहमा ८–१० जना मात्रै मानिस भएको अवस्थामा सो रकम अपुग हुनेछ ।

खरिपाटी, इचंगु आवास, मनमोहन अस्पताल र केएमसी अस्पतालमा क्वारेन्टिन
सरकारले तत्कालका लागि ४ वटा स्थानमा ठूलो सङ्ख्यामा नागरिक राख्न मिल्ने गरी क्वारेन्टिनको निर्माण गर्न लागेको छ ।

जसअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्र, सुकुम्बासीका लागि भनी बनाइएको इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पतालको दहचोकस्थित भवन र केएमसी अस्पतालको दुवाकोटस्थित भवनलाई क्वारेन्टाइन बनाउन लागिएको छ । यी स्थानहरुमा केन्द्रीय तबरबाटै क्वारेन्टाइन बनाइने छ ।

क्वारेन्टिनको रेखदेखमा पनि सेना खटिने
सरकारले बनाएको कार्याविधि र कार्ययोजनामा क्वारेन्टिनको रेखदेख तथा सुरक्षाको जिम्मा पनि सेना र प्रहरीले लिने उल्लेख गरिएको छ । योजनाको बुँदा नम्बर १४ मा क्वारेन्टिनको रेखदेख, सुरक्षा, निगरानी र अभिलेख नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहले गर्ने उल्लेख गरिएको छ । त्यसका लागि सहरी विकास मन्त्रालय र प्रदेश सरकारले समन्वय गर्ने उल्लेख छ ।

होल्डिङ सेन्टरको जिम्मा सेनालाई

विदेशबाट जहाजमार्फत् आउने नागरिक वा छिमेकी देशबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई लागि तत्कालका लागि होल्डिङ सेन्टरमा राखिने र त्यसको व्यवस्थापन पनि नेपाली सेनाले गर्ने भएको छ । सेनाले हवाई मार्गबाट आउनेका लागि गौचर वा अन्य स्थानमा होल्डिङ सेन्टर बनाउने छ र पहिलो एक वा दुई दिन त्यही होल्डिङ सेन्टरमै राखिने छ । त्यसपछि मात्रै स्थानीय तह वा होटल क्वारेन्टिनमा पठाइने छ ।

स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य
तेस्रो मुलुकबाट स्वदेश फर्कन चाहने नागरिकका लागि स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कार्याविधिमा विदशेबाट स्वदेश फर्कने व्यक्तिले जहाज चढ्नुपूर्व ढिलोमा ७ दिन अगाडिको स्वास्थ्य परीक्षणको रिपोर्ट बुझाउनुपर्नेछ ।

यद्यपि विदेशमा रहेका नागरिकले कहाँ र कसरी स्वास्थ्य परीक्षण गराउने भन्ने कुरा भने कहिँ पनि उल्लेख गरिएको छ । कोरोना परीक्षण गराउँदा आरडिटी टेष्ट गराउने कि पीसीआर टेष्ट भन्ने कुरा पनि कतै उल्लेख गरिएको छैन । मदन ढुङ्गाना रातोपाटी

सम्बन्धित् समाचार