गृहपृष्ठ खबर कोरोना संकटको सापेक्षमा १० अरब खर्च धेरै नभएको – शंकर पोख्रेल ,मुख्य मन्त्री ,प्रदेश पाँच

कोरोना संकटको सापेक्षमा १० अरब खर्च धेरै नभएको – शंकर पोख्रेल ,मुख्य मन्त्री ,प्रदेश पाँच

कोभिड–१९ नियन्त्रणमा सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै युवाले प्रर्दशन सुरु गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका छन् । उनले कोरोना संकटको सापेक्षमा भएको खर्च धेरै नभएको पनि बताएका छन् । र, आन्दोलनकारीले मागेजस्तो एक घर एक पीसीआर परीक्षण गर्ने हो भने खर्च ५०–६० अर्ब लाग्ने पनि उनले बताएका छन् ।

शुक्रबार बुटवलमा कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बको हिसाब खोज्दै हजारौं सडकमा उत्रिएका थिए । उनले त्यसको जवाफमा कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका बारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिएको र यसले परीक्षण र उपचारमासमेत जटिलता पैदा गरेको बताएका छन् ।

उनले शुक्रबार फेसबुकमा लेखेका छन्, ‘खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाले धैर्य गर्ने समय हो यो ।’ अहिलेसम्म जति खर्च भएको छ, त्यो संकटको सापेक्षतामा निकै कम भएको उनको ठहर छ । कोरोना परीक्षण र उपचारमा खर्च हुने समय बल्ल सुरु भएको पनि उनले बताएका छन् । सरकार अझै ठूला खरिद गरेर थप तयारी गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गरेका छन् ।

खर्च राज्यका स्थायी संरचनाबाट हुने र त्यसको वास्तविक खर्च भुक्तानी भएसँगै सरकारी लेखामा देखिने उनको स्पष्टोक्ति छ । उपचार र परीक्षणमा संलग्नले पाउनु पर्ने जोखिम भत्ता अझै भुक्तानी नभएको र त्यो भुक्तानी हुँदा अहिलेको खर्च अझै बढ्ने उनले जनाएका छन् । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेको स्टाटसमा उल्लेख छ । ‘खर्च बढी भयो भन्दै विरोध गर्ने तथा एक घर एक पीसीआर परीक्षण हुनु पर्ने माग जायज नभएको उनको प्रतिक्रिया छ । ‘अहिले नै खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पीसीआर परीक्षण गर्नुपर्छ भन्ने माग नै विरोधाभाषपूर्ण देखिन्छ,’ उनले लेखेका छन्, ‘एक घर एक पीसीआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ ।’ रातारात त्यो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति, र सामर्थ्य राज्यसँग नभएको उनको तर्क छ ।

‘यतिबेला त सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्दछ । हामीभन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामीले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ?’ उनले लेखेका छन्, ‘नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला, त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन ।’ यो समय सबै जिम्मेवार भएर कोरोनाविरुद्ध मिलेर संघर्ष गर्ने समय रहेको उनले बताएका छन् ।

सम्बन्धित् समाचार