पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको कामप्रति असन्तुष्टी जनाएका छन् । आज एक सन्देश जारी गर्दै शाहले जनताको समस्याप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् । सन्देशमा उनले देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रु भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी उनको अर्को प्रश्न छ–जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ रु
भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषयले होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना किन भयो भनेर पनि प्रश्न गरेका छन् ।
अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । साथै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शाहले कोरोनाको महामारीले चुनौतीसँगै अवसर पनि आएको उल्लेख गर्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।