सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको जनाएको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आयाजित पत्रकार सम्मेलनमा लकडाउन अन्त्य भएको जानकारी दिनुभएको छ ।
लकडाउन खुले सँगै जनजीवन सहज बनेको छ । अर्थमन्त्रीले नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको बताउनुभयो । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो । ‘सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ’ उहाँले भन्नुभयो, ‘लकडाउन खुला गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछ ।’
विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धी कार्यालय खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।
सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपाय अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको अर्थमन्त्रीले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकीछिपी आएको खण्डमा कानुन अनुसार कारबाही हुने उहाँको भनाई छ ।








