गृहपृष्ठ खबर उपलब्धीका सूचक देखिने गरी बजेट खर्च गर्न प्रदेश ५ का मुख्यमन्त्रीकाे निर्देशन

उपलब्धीका सूचक देखिने गरी बजेट खर्च गर्न प्रदेश ५ का मुख्यमन्त्रीकाे निर्देशन

प्रकाशित मिति:

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचक देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन्।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयको प्रस्तूतिपछि पोखरेलले नतिजामुखी र उपलब्धीका सूचक देखिनेगरी बजेट खर्च निर्देशन दिए। ‘बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ,’ उनले भने।

उनले गत आर्थिक वर्ष धेरै अप्ठारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिए। चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने उनको विश्वास छ।

कोभिड-१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ। त्यसैगरी चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ। यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ।

सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न उनले निर्देशन दिए। ‘ठूला खालका जलाशय निर्माण, गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढौं, ती आयोजनाले नतिजा दिन्छन्,’ उनले भने।

सेवा प्रवाहलाई छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोगलाई ध्यान दिएर अघि बढ्न मुख्यमन्त्रीले निर्देशन दिए।त्यसैगरी, उनले यातायात व्यवस्था कार्यालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिए। उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गरे।

कर्मचारी हेरफेर भदौ भित्र गर्न तथा कार्यसम्पादन र मूल्याङ्कनका आधारमा हेरफेर गर्न उनले निर्देशन दिए। रिक्त दरबन्दी मध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गरे।

उनले कोभिडको दोश्रो चरण आएको त्यसले भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढेकाले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिए। दोश्रो चरणमा लक्षणसहितका विरामीको संख्या बढेकाले उनले आइसियुको क्षमता बढाउनुपर्ने बताए।कोभिड-१९ का कारण धेरैको रोजगारी गुमेकाले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी श्रृजना गर्ने गरी काम अघि बढाउनुपर्ने उनले बताए।

सम्बन्धित् समाचार