
एजेन्सी : अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले २ सय ३३ रन बनाएको छ। अष्ट्रेलिया भ्रमणमा रहेको भारतले एडिलेड मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा जम्मा २ सय ३३ रन बनाएको छ।
सुरुवातमै २ विकेटको झट्का ब्यहोरेको भारतको क्रिज कप्तान विराट कोहली र अजिन्क्या रहानेले सम्हालेका थिए। ८९ ओभरको खेल सकिदा भारतले ६ विकेट गुमाइसकेको छ।

भारतका कप्तान विराट कोहलीले १ सय ८० बलको सामना गर्दै सर्वाधिक ७४ रन बनाउँदा अर्का ब्याट्सम्यान चेतेश्वर पुजारा ४३ रनमा आउट भए।
यस्तै अजिन्क्या रहानेले ४२ तथा मयंक अग्रवाल १७, हनुमा विहारी १६ रनमा आउट भए । ओपन ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी सा शून्य रनमा आउट भए।
अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा जोश हज्लउड, प्याट कुमिन्स तथा नाथन लियोनले समान १(१ विकेट लिए। अष्ट्रेलिया र भारतबिचको चार खेलको टेष्ट श्रृंखला आजबाट शुरु भएको हो।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि तीन म्याचको एकदिवसीय र टी–ट्वान्टी सिरिज खेलिसकेको छ। जसमा एकदिवसीय सिरिज गुमाएको भारतले टी–ट्वान्टी सिरिज भने आफ्नो पोल्टामा पारेको थियो।








