अमेरिकाले पहिलो लहरदेखि हालसम्म कोरोना रोकथामका लागि नेपाललाई झण्डै ६ करोडभन्दा बढी अमेरिकी डलर सहयोग गरेको बताएको छ ।
अमेरिकी दूतावासले सहयोगबारे जानकारी आफ्नो वेबसाइटमा राख्दै ५ करोड ९० लाख डलर बराबरको सहयोग गरेको बताएको हो । जसमध्ये ४ करोड ५१ लाख डलर अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकि सहायता संस्था युएसएडमार्फत नेपाललाई प्रदान गरिएको छ । त्यस सहयोगमार्फत ५५ प्रतिशत जनसंख्या लाभान्वित भएको अमेरिकी दाबी छ ।
हालसम्म नेपाललाई १ सय भेन्टिलेटर र १० हजार व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरिएको अमेरिकाले जनाएको छ । अमेरिकी रक्षा विभागबाट ५० लाख ८० हजार रक्षा विभागबाट नेपाललाई प्राप्त भएको छ । गत साता अक्सिजन प्लान्ट स्थापनाका निम्ति रक्षा विभागले २० लाख ७५ हजार डलर पठाएको दूतावासले जनाएको छ ।
अमेरिकाबाट एस्ट्राजेन्का भ्याक्सिन नेपाल ल्याउनका निम्ति पहल भइरहेको दूतावासले जनाएको छ । अमेरिकी विदेश सचिव एन्टोनी बिनकेनले कोरोना नियन्त्रण तथा रोकथामका निम्ति विभिन्न राष्ट्रबाट सहयोग माग भइरहेको भन्दै प्राथमिकताका आधारमा अमेरिकाले सहयोग गर्ने बताएका छन् ।
‘धेरै राष्ट्रहरूले यो आपतकालीन अवस्थाबाट पार पाउन सहयोग माग गरिरहेका छन् । अमेरिकाले आवश्यकता र प्राथामिकताका आधारमा सबैलाई सकेसम्म छिटो सहयोग गर्नेछ,’ उनले भनेका छन्







