काठमाडौं : बारामा दुई जना बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो प्रहरीले अन्दाजी २७–२८ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। उनीमाथि अहिले सोधपुछ भइरहेको डिएसपी मिश्रले बताए।
मंगलबार बिहान कलैया उपमहानगरपालिका ७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको थियो। मृतक बालकहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमान अन्सारी हुन्। उनीहरू दाजुभाइ हुन्।
डिएसपी मिश्रका अनुसार उनीहरूको घाँटी रेटेर हत्या भएको थियो। आफ्नो घरबाट करिब तीन सय मिटर परको मदरसामा शव फेला परेको हो। दुई दाजुभाइ सोमबार बेलुकी ७ बजे खेल्ने भन्दै घरबाट निस्किएका थिए। तर त्यसपछि उनीहरू घर फर्किएका थिएनन्। घर नफर्किएपछि प्रहरीलाई खबर भएको थियो।
मंगलबार बिहान करिब सवा ७ बजे दुबै बालकको शव फेला परेको हो। तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको थियो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







