दाङ : दाङका दश वटा पालिकाका एक सय वडामध्ये ४२ वटा वडा बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।राप्ती नदीको किनारमा रहेका राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका तथा बबई नदीको तटीय क्षेत्रमा रहेका घोराही, तुलसीपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकाका ३५ वटा वडा बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
बङ्गलाचुली गाउँपालिकासहितका ६ वटा वडा भने पहिरोको उच्च जोखिममा रहेका छन् । बाढीले पार्न सक्ने डुबान तथा कटान नियन्त्रणका लागि काम भइरहेको र विपद् आइहाले उद्धारका लागि समुदाय, पालिकार जिल्ला तहमा जिम्मेवारी बाँडेर तयारी अवस्थामा रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल बताउनुहुन्छ ।
बाढीका कारण रातभर राप्ती नदीको टापुमा बसेका चार जनालाई बुधवार बिहान उद्धार गरिएको छ । समुदायस्तरमा विपद्को पूर्वसूचना प्रणाली निर्माण, उद्धार गर्ने टोली निमार्ण तथा उद्धार गरेकाहरूलाई राख्नका लागि ठाउँ चयनसमेत गरिसकिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । राप्ती र बबई नदीबाहेक जिल्लाका अन्य खहरे खोलाले पनि बस्तीहरू कटान तथा डुबान गर्ने गरेका छन् ।
दाङमा २०७१ र २०७४ सालमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो ।








