गृहपृष्ठ खबर मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

लमजुङ : सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार उच्च जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ ।

चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको छ । यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए । चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको उनले बताए ।

नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भएपनि पानी निरन्तर परिरहेकोले समस्या भएको प्रजिअ लामिछानेले बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको उनले बताए ।

सम्बन्धित् समाचार