पार्बती आचार्य
कपिलवस्तु असार ११ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०७८ अन्तर्गत कपिलवस्तुमा सामूहिक अन्तक्र्रिया तथा खुला छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लागुऔषधरहित परिवार, स्वस्थ जीवनको आधार भन्ने मूल नारका साथ उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले लागुऔषध भनेको के हो ? यसका असर, यसबाट छुटकारा पाउने तरिका र यसका प्रकार तथा कच्चा पदार्थहरुको बारेमा स्पष्ट पारेका थिए । उनले धर्म संस्कृतिको नाममा समाजमा लागुऔषध तथा दुव्र्यसनीको दुरुपयोग बढेकाले सबै जना सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
डिएसपि भण्डारीले लागुऔषधले व्यक्तिगत जीवन, परिवार, सामाजिक जीवन, आर्थिक विचलन, सामाजिक मन मर्यादामा असर पर्नुका साथै अन्त्यमा ज्यानै गुमाउनुपर्ने असरहरुको बारेमा समेत स्पष्ट पारेका थिए । कपिलवस्तु जिल्लाको चालू आर्थिक वर्ष २०७७÷७८ मा लागु औषधसम्बन्धी विवरणसमेत प्रस्तुत गरिएको थियो ।
वास्तवमा साथी संगत, कौतुहलता, पारिवारिक समस्या, पढाइमा समस्यालगायत विभिन्न लागुऔषधमा फस्ने माध्यमहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लागुऔषध नियन्त्रण ऐन, २०३३ को बारेमा छलफल गर्नुका साथै यसको प्रयोग तथा अवैध ओसारपसार गर्दा हुने कानुनी कारवाहीको बारेमा प्रष्ट पारिएको थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले नयाँ पुस्ता, युवाहरु लागुऔषध दुव्र्यसनीमा फसेकाले राज्य संयन्त्रले नै अझ प्रभावकारी रुपमा पहल गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै कपिलवस्तु सिमानाकाको नजिक रहेको र अभिभावकको अज्ञानताका कारण यसको प्रयोग र ओसारपसार बढेकाले औपचारिकभन्दा अनौपचारिक चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका थिए ।
राष्ट्रिय अनुसन्धानका एसपी योगेन्द्र केसी, मेजर अजित राणा, सामुदायिक प्रहरी अध्यक्ष देवीप्रसाद बर्मा, गैसस महासंघका अध्यक्ष प्रविणकुमार श्रीवास्तव, समन्वय अधिकारी भूमिराम पोख्रेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष श्वेता गिरी, अभियान्ता गीता अन्जान, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सरोकारवालाको जिज्ञासा दिँदै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रशासन, प्रहरी तथा पत्रकारले मात्र लागुऔषध नियन्त्रण गर्न नसकिने भन्दै सबैजना सचेत रहन आवश्यक रहेको बताए । उनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सञ्चार माध्यमबाट सन्देशमूलक सूचना प्रशारण तथा प्रकाशन गर्न आग्रह गरे । उनले लागुऔषध नियन्त्रणका लागि यस क्षेत्रमा काम गर्ने संघसंस्थासँग समन्वय गर्न प्रशासन तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मीलगायत जिल्लाका सक्रिय सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








