गृहपृष्ठ खबर कांग्रेसलाई महाधिवेशनको चटारो : आजकाे बैठकले तल्लो तहको चुनाव सारेर नयाँ मिति तोक्ने

कांग्रेसलाई महाधिवेशनको चटारो : आजकाे बैठकले तल्लो तहको चुनाव सारेर नयाँ मिति तोक्ने

प्रकाशित मिति:

नेपाली कांग्रेसकाे पदाधिकारी र पूर्वपदाधिकारीहरूकाे बैठक आज पनि बस्दै छ । बूढानिकलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाकाे घरमा बिहान ९ बजे बस्ने बैठकले १४औँ महाधिवेशनका लागि १२ साउनदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने र नयाँ मिति तय गर्नसक्ने नेताहरूले बताएका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनसमेत नआएकाले त्यसबारे मिति तय गर्ने विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । हिजाेकाे बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न प्रस्ताव राखेका थिए । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले भाेलि समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरेका छन् ।

सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न माग गर्दै अनसनरत नेता-कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिइसकेका छन् । त्यसबारे पनि आजकाे बैठकमा छलफल हुने बताइएकाे छ ।

खासगरी क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलागेसम्म महाधिवेशनका गतिविधि अगाडि बढ्न सक्दैनन् । क्रियाशील सदस्य नै वडा अधिवेशनमा सहभागी हुने र उनीहरूले नै वडा कमिटी र क्षेत्रीय प्रतिनिधि चुन्छन् । क्षेत्रीय प्रतिनिधिले पालिका, क्षेत्र र जिल्ला नेतृत्व चयन गर्नुका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले देशभरबाट आएका क्रियाशील सदस्यतामाथि परेका उजुरीको अध्ययन गर्दै आएको छ । समितिका अनुसार बारा र सप्तरीबाहेक जिल्लाको क्रियाशील सदस्यताको काम टुंग्याइसकेको छ ।

सम्बन्धित् समाचार