बुटवल, जेठ २३।
बचतकर्ताहरुको रकम हिनामिना गरेर सम्पर्क बिहिन भएका बुटवलको शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल विदेश जान लागेको सुचना पाएपछि बचतकर्ताहरू रोक्न माग गर्दै प्रहरी कार्यालय पुगेका छन्।
केहि दिन यता कार्यालय बन्द गरेर सम्पर्क बिहिन भएका खनालको खोजीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका उनीहरु बुधवार खनालले बिदेश जाने तयारी गरेको सुचना पाए संगै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन पुगेका छन्।
अध्यक्ष खनाल बुधबार दुवई जान लागेको जानकारी पाएपछि उनको बिदेश यात्रा रोक्न भन्दै सहकारीका कर्मचारी सहित २० जना पिडितहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत अध्यागमन कार्यालयमा निवेदन दिएको बचतकर्ता टेकराज पन्थीले बताए।
पीडितहरुको लिखित निवेदन आएको र उनीहरु बिदेश जान लागेको भए रोक्नका लागि सम्वन्धीत निकायमा लेखि पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए।