गृहपृष्ठ खबर जहाँ शिक्षा फ्रि छ, त्यहाँ शिक्षाको अवस्था डामाडोल छ : नगरप्रमुख अर्याल

जहाँ शिक्षा फ्रि छ, त्यहाँ शिक्षाको अवस्था डामाडोल छ : नगरप्रमुख अर्याल

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले शिक्षक, जनप्रतिनिधि र कर्मचारीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने तर्कले शिक्षाको गुणस्तरियतामा सुधार नहुने दाबी गरेका छन् । विहिबार नगरको शैक्षिक गतिविधि सुशासनका सम्बन्धमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यार्थीले ईच्छा गरेको विद्यालयमा पढाउनुपर्ने बताउँदै भने, ‘विद्यार्थीको मौलिक हक, अधिकार र ईच्छालाई कुण्ठित गर्नसक्नुहुन्छ कसैले ? भावनात्मक कुरामा बहकिनु हुदैंन् ।’

मिडियामा प्रचारप्रसारकै लागी कतिपय पालिकामा यस्ता गतिविधि भएको उनले दाबी गरे । शिक्षा निःशुल्क हुनै नसक्ने विषय भएको बताउँदै उनले भने, ‘म बाणगंगा नगरपालिकामा शिक्षा फ्रि भन्न सक्दिन् । जहाँ शिक्षा फ्रि छ, त्यहाँ शिक्षाको अवस्था डामाडोल छ ।’

नगरप्रमुख अर्यालले निःशुल्क शिक्षा नभई स्वास्थ्य हुनुपर्ने बताए । निःशुल्क शिक्षा हुँदा शिक्षाको नतिजा राम्रो र गुणस्तरिय नहुने नदेखिएको उनले बताए ।

निजि विद्यालयमा धनी र सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने मानसिकता पुरानो भएको बताउँदै उनले त्यस्तो मनोविज्ञानबाट मुक्त हुन आग्रह गरे । उनले विद्यायमा आवश्यकता भन्दा बढी राजनिति भएको समेत स्वीकार गरे । उनले विद्यालय क्षेत्रमा लागुऔषद नियन्त्रणका लागी नगरपालिका प्रहरीसंग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

निजि विद्यालयबाट सामुदायिक विद्यालयमा विधार्थीहरु आउने क्रम बढेको र उक्त क्रम अझै निरन्तर बढ्दै जाने उनले दाबी गरे । उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकका समस्या समाधानको जिम्मेवारी नगरपालिकाले लिने प्रतिवद्धता जनाए ।

बाणगंगा नगरपालिका- ४ का वडाध्यक्ष छविरेस्मी मगरले आफु वडाध्यक्षमा निर्वाचित भएको एक बर्षभन्दा बढी भईसकेको र सो अवधिमा एक जना पनि शिक्षाको सुधारका लागी वडा कार्यालयमा नआएको बताए । शिक्षाको विषयभन्दा पनि सडक पुर्वाधार लगायतका अन्य विषय लिएर वडामा धाउनेको संख्या बढी रहेको उनले बताए । शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर गुणस्तरिय शिक्षा दिन वडा प्रतिवद्ध रहेको उनको भनाई छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअले विद्यालयको भौतिक अवस्था, परिक्षा प्रणालीमा एकरुपता, अनुगमन, शिक्षकलाई प्रोत्साहन, शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम लगायतको उचित प्रबन्ध नभएको गुनासो गरेका थिए ।

सो क्रममा उनीहरुले विद्यालयमा अनावश्यक राजनिति हुने गरेको बताउँदै निजि भन्दा सामुदायिक विद्यालयहरु अब्बल रहेको दाबी गरेका थिए ।

शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार