रुपन्देही ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
आयोगले वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेवमोजिम उनलाई उल्लेखित कसुरमा विगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।
त्यसैगरी, शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि २ लाख ७० हजार रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेकोले ठेक्का सम्झौतामा सहीछाप गर्ने चौधरीले दुई लाख सत्तरी हजार बिगो, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि उक्त शंकरपुर तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम २ लाख ७० हजार बिगो बमोजिम जरिवाना गरी सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले वडाध्यक्ष कंडेलले पुरानो ठेक्काको रकम लामो समय व्यक्तिगत रुपमा चलाएको खुलेको र अख्तियारमा मुद्दा परेपछि खातामा जम्मा गरेको बताए । ‘मुद्दा दर्ता भएको मैले पनि सुनेको छु, तर अब कसरी अगाडि बढ्ने, जिम्मेवारी दिने वा हटाउने विषयमा कानूनी प्रकृया बुझ्दै छु’, उनले भने ।
वडाअध्यक्ष कंडेलले पुरानो विषयमा मुद्दा परेपछि कानूनी प्रक्रिया पूरा गर्ने बताए । ‘आज मुद्दा दर्ता भएको जानकारी पाएँ, भोलि काठमाडौं जान्छु, पत्र पाएपछि कार्यबाहक दिएर कानूनी प्रक्रिया पूरा गर्छु, फरक देखिएको हिसाब जम्मा गरिसकेको छु’, उनले भने ।