गृहपृष्ठ Featured कपिलवस्तुमा २४ सय कुखुराका चल्ला नष्ट गरियो

कपिलवस्तुमा २४ सय कुखुराका चल्ला नष्ट गरियो

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

जिल्लाको विजयनगर वडा नम्बर-७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो।

बिओपी कृष्णनगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए।

सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठाइएको छ।

नेपालमा कुखुराको मूल्य बढेपछि तस्करहरूले भारतीय कुखुरा र चल्ला अवैध बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन्।

सम्बन्धित् समाचार