गृहपृष्ठ Featured उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौँ

नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।’

प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।

सम्बन्धित् समाचार