शोभा जिसि, बाणगंगा ।
वडा नं.१ बाणगंगा नगरपालिकामा भएको छैठौं मेयर कप फुटवल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको फाईनल खेलमा वडा नं.२ लाई २–१ गोलले पराजित गर्दै वडा नं.१ छैठौं मेयर कपको च्याम्पियन बनेको हो ।

वडा नं.१ लाई च्याम्पियन बनाउन रोशन सेन र कुनाल सारुले एक/एक गोल गरेका हुन् । वडा नं.२ का लागि युवराज चौधरीले एक गोल गरे ।
फाईनल खेलमा वडा नं.१ का लागि एक गोल गरेका कुनाल नै ‘म्यान अफ दि म्याच’ घोषित भए ।
कुनाल प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले प्रतियोगिता अवधिभर ४ खेलमा ४ गोल गरेका हुन् । सर्वाधिक गोलकर्ता बनेका कुनालले नै ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को उपाधि समेत जितेका छन् ।

उनले नगद ५ हजारसहित ट्रफ्री प्राप्त गरे । उपाधि हात पारेको वडा नं.१ ले नगद १ लाख ५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।

उपविजेता बनेको वडा २ ले ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सेमिफाईनल प्रवेश गरेका वडा नं.९ र १० ले नगद ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
खेलाडीहरुलाई लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, नगरप्रमुख चक्रपाणी अर्याल लगायतका जनप्रतिनिधिहरुले पुरस्कार प्रदान गरेका हुन् ।








