काठमाण्डाै – एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ । सातदोबाटाेमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबलाई ३–० गोलले हरायो ।
प्रतियोगिताको अर्काे खेलमा अहिले सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
एन्फाको आयोजनामा आजदेखि शुरू भएको प्रतियोगितामा १४ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट ५ वटा टोली एन्फा महिला लिगमा छनोट हुनेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल र एफसी रियल छन् । यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।








