काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराएको छ । गएराति भएको खेलमा भारतले यूएईलाई नाै विकेटले हराएको हो ।
यूएईले दिएको ५८ रनको सानो लक्ष्य पछ्याएको भारतले चार ओभर तीन बलमा एक विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ३० र शुबमन गिलले अविजित २० रन बनाए । अफगानिस्तानका जुनैद सिद्दिकीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले १३ ओभर एक बलमा सबै विकेट गुमाएर ५७ रन बनायो । यूएईका अलिशान शराफुले २२ र कप्तान मोहम्मद वसीमले १९ रन बनाए । भारतका कुलदीप यादवले चार विकेट लिए । यस्तै शीभम दुवेले तीन तथा जसप्रीत बुमराह, वरुण चक्रवती र अक्षर पटेलले सामान एक विकेट लिए ।
८ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।








