वैखरी अनलाईन, बाणगगा ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका क्षेत्रमा भएको धार्मिक विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सार्वजनिक शान्ति भंग गरेको कसुरमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार वडा नम्बर २ बर्दवा क्षेत्रमा रहेको कालो मन्दिरमा ढुंगा प्रहार, तोडफोड तथा मन्दिरका सामग्रीमा क्षति पुर्याइएको विषयलाई लिएर हिन्दु–मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही विवादपछि केही व्यक्तिहरूले सार्वजनिक सडकमा मोटरसाइकल रोकी सवार व्यक्तिमाथि लाठी, हेल्मेट र मुक्काले कुटपिट गर्नुका साथै मोटरसाइकल र मोबाइलमा समेत क्षति पुर्याएका थिए ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी टोलीले अनुसन्धान तीव्र बनाएको थियो । सोही क्रममा कपिलवस्तु नगरपालिका–४ बस्ने २६ वर्षीय राज भनिने दुर्गेश यादव र सोही वडामा बस्ने २२ वर्षीय पवन कुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि सार्वजनिक शान्ति भंग गरेको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








