गृहपृष्ठ खबर कर सहयोगी श्रमिक संगठनको वरिष्ठ उपाध्यक्षमा बासुदेव खनाल निर्वाचित

कर सहयोगी श्रमिक संगठनको वरिष्ठ उपाध्यक्षमा बासुदेव खनाल निर्वाचित

रुपन्देही ।

कर सहयोगी श्रमिक संगठन नेपालको संयुक्त जिल्ला कार्यसमिति रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनबाट कपिलवस्तुका बासुदेव खनाल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जीतपुर दर्शनचोक निवासी खनाल चर्चित कर परामर्शदाता तथा ट्याक्स केयर कपिलवस्तुका सञ्चालक हुनुहुन्छ। कर परामर्श तथा कर व्यवस्थापन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका उहाँले साना तथा मझौला व्यवसायीहरूलाई सरल, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल हुनुभएको छ।

अधिवेशनबाट रुपन्देहीका गणेश खनाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा बासुदेव खनालसहित नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। खनालको निर्विरोध चयनले कर सहयोगी समुदायमा नयाँ उत्साह थपिएको सहभागीहरूले बताएका छन्।

अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष तारनाथ दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, केन्द्रीय उपाध्यक्ष शङ्कर ढुङ्गाना, केन्द्रीय महासचिव नवराज बर्तौला, केन्द्रीय सचिव विष्णु प्रसाद आचार्य, केन्द्रीय सदस्य बाबुराम भट्राई, केन्द्रीय सदस्य दीपक गैरे, प्रदेश सचिव राधेश्याम गुप्ता लगायतका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि खनालले साना तथा मझौला व्यवसायीहरूले कर तथा लेखासम्बन्धी जिम्मेवारीमा कर सहयोगीमाथि गहिरो विश्वास व्यक्त गरिरहेको बताउनुभयो। उहाँले कर सहयोगीहरूको इमान्दारिता, व्यवहारिक ज्ञान र समयमै सेवा दिने संस्कृतिका कारण व्यवसायीहरूले कर व्यवस्थापनका लागि कर सहयोगीलाई पहिलो रोजाइका रूपमा लिइरहेको उल्लेख गर्दै अब यस विश्वासलाई अझ बलियो बनाउँदै गुणस्तरीय सेवा, व्यवसायिक दक्षता र संगठनात्मक एकतालाई नयाँ उचाइमा पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो।

उहाँले कर सहयोगी श्रमिक संगठनलाई देशभरका कर सहयोगीहरूको साझा, सशक्त र प्रभावकारी संस्थाका रूपमा विकास गर्न सबै सदस्य एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै कर सहयोगीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, सामाजिक सम्मान तथा व्यवसायिक अवसर विस्तारका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कपिलवस्तुको जीतपुर दर्शनचोकस्थित ट्याक्स केयर कपिलवस्तुमार्फत कर परामर्श, लेखा व्यवस्थापन, व्यवसाय दर्ता, कर रिटर्न तथा अन्य वित्तीय सेवामा सक्रिय खनालको नेतृत्वले कर सहयोगीहरूको पेशागत विकास र व्यवसायीहरूको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित् समाचार